समाज

पूर्व-पश्चिम राजमार्ग भत्कियो, यात्रुहरु अलपत्र

नवलपरासी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा सडक भत्केर यातायात अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि लागतार परिरहेको भारी वर्षाका कारण दाउन्नेको एस मोडबाट पूर्वतर्फ एक किलोमिटरको दूरीमा सडकको एक लेन भत्केपछि यातायात ठप्प भएको हो।

भत्कीएको ठाउँमा बाटो नै चर्किएपछि पूर्व पश्चिम यात्रा गर्ने साना तथा ठूला सवारीसाधन र यात्रुहरु अलपत्र परेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। 

भारी वर्षा कारण दाउन्ने र दुम्कीबासको विभिन्न ठाउँमा पनि पहिरो झरेको छ। एक हप्ता अगाडि नै ठाउँठाउँमा पहिरो झरेर ठप्प बनेको यातायात एकतर्फी सुचारु गरिएको थियो। तर फेरि पहिरो गएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ।

छिनछिनमा पहिरो झर्ने र बाटो भत्किने क्रमले बाटोको पहिरो पन्छाउने काम ठप्प छ। यात्रुहरु पहिरोको उच्च जोखिममा अलपत्र परेको स्थानीयले बताएका छन्।

निरन्तर भारी वर्षाले परासी क्षेत्रमा फेरि ठूलो बाढीले हजारौं घर डुबानमा परेका छन्। पहाड हुँदै बगेको झरही, तुरिया, खजुरा, पानभारलगायतका खोलाहरुको बाँध फुटेर थुप्रै गाउँ टोलहरुमा बाढी पसेको छ। 

 

प्रकाशित: २८ श्रावण २०७४ ०९:२९ शनिबार

पूर्व-पश्चिम राजमार्ग भत्कियो यात्रुहरु अलपत्र