काठमाडौं महानगरपालिकाले चकुन्चा खहरेखोला खोल्न जति तदारुकता देखाएको थियो त्यसको व्यवस्थापनमा बेवास्ता गर्दा कपनको मिलनचोक र साततले क्षेत्रमा बाढी पसेको बुढानिलकण्ठ नगरपालिका-१० का वडा अध्यक्ष नवराज भट्टराईले आरोप लगाएका छन्।
उनले वर्खाको समयमा महानगरले खहरे खोला उत्खनन् गरेको तर व्यवस्थापन नगर्दा स्थानीयीले दुख पाएको बताए।
'महानगरले भत्काउन हतार गर्यो। भत्काउन जत्ति तदारुकता देखायो बनाउन वास्ता गरेन। हामीले त भत्काउने बेलैमा विरोध गरेका हौं। तीन बुँदे समझदारी पछि मात्र भत्काउन दियौ तर अहिले बाढी बस्तीमा पसेको छ महानगर चुप बसेको छ।' वडाअध्यक्ष भट्टराइले भने।
वडाअध्यक्ष भट्टराईले तीन बुँदेमा महानगरले तत्कालीन समस्या समाधान गर्ने सहमति भएको बताए।
'खहरे नजिक रहेका घरमा जान बेलिब्रिज हाल्ने वा अन्य माध्यमबाट घरमा जान सहज गराउने, खहरेवरपर पर्खाल लगाउने, खोलाबाट निकालिएको माटो बालुवाको व्यवस्थापन गर्ने सहमति भएको छ।' उनले भने, 'हामीले त्यसपछि मात्र खहरेको संरचना र ह्युम पाइप हटाउन दिएका थियौं। तर अहिले महानगर मौन बसेको छ। पहिल्यै पनि बाढी पस्थ्यो। हामीले वर्खामा झन् समस्या हुन्छ भन्दा जबरजस्ती खहरे खोलियो अहिले बाढीले दुख दिएको छ। '
यसबारे कामनपा ६ को वडाअध्यक्षसँग छलफल गरिरहेकाे बताए। 'हामीले आज पनि छलफल गरेका छौं। अल्पकालीन समस्या समाधान होस् भनेर पनि बिहान कुरा गरेको छु। छिट्टै समाधान होस् भनेको छु हेरौ केही गर्लान।'
बिहिबार रातभरको वर्षाले कपन क्षेत्र डुबानमा परेको थियो। चकुन्चामा आएको बाढी घर घरमा पसेको हो। मिलनचोकदेखि साततलेसम्मको क्षेत्रका घरका भूँइतलामा बाढी पसेको थियो।
प्रकाशित: ७ भाद्र २०८० ०६:११ बिहीबार