समाज

धादिङ बस दुर्घटनाका गम्भीर घाइते १३ जनाकाे पहिचान खुल्यो (अपडेट)

धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुने मध्ये चार जना यात्रु सहित १३ घाइतेहरूको पहिचान खुलेको छ। दुर्घटनामा सबैगरि आठ जना यात्रुको ज्यान गएको थियो।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार मृत्यु हुने मध्ये म्याग्दीको रघुगंगा गाउँपालिका–३ का थानबहादुर भण्डारी (५०), पर्वतको मोदी गाउँपालिका–१ की किर्तिका शर्मा पौडेल (१५), धादिङको गजुरी गाउँपालिका–८ का सविन रम्तेल (२५) र कास्कीको पोखरा–११ फूलबारीका सुमन थापा (२५)  को मात्र सनाखत भएको छ। अरु चार जना मृतकको पहिचान नभईसकेको उनले बताए।

घाइते हुनेहरुमा पर्वत मोदी गा.पा १ बस्ने गुरुदत्त शर्मा पौडेल (४१), बस चालक म्याग्दी बेनि न.पा ६ बस्ने दिपक थापा (३०), म्याग्दी बेनी न.पा ३ का पूर्ण छन्त्याल (२४), अन्नपूर्ण गा.पा १ का कुशल अधिकारी (१९), काठमाण्डौ कृतिपुर न.पा ९ बस्ने खड्क कुमार श्रेष्ठ (५२), म्याग्दी मंगला गा.पा २ बस्ने गिता जंजाली मगर (१६), बाग्लुङ बस्ने शुस्मा क्षेत्री (१९), पर्वत फलेवास न.पा बस्ने हरिकला गौडेल (६३), म्याग्दी अनन्पुर्ण गा.पा ३ बस्ने अञ्जु राना मगर (२२). म्याग्दी गरुङ्गंगा गा.पा ७ बस्ने प्रविन पुन (२९), बंगलादेश बस्ने मोहमद हजिरहुल (३२), म्याग्दी रघुगंगा ६ बस्ने रिना रानामगर (२३) र बाग्लुङ गलकोट बस्ने ज्ञानु बुढामगर (६८) काे पहिचान खुलेको हाे। उनीहरु सबैको काठमाडौंमा उपचार भइरहेको छ।

तस्तै सनाखत हुन बाँकी रहेका घाइतेहरुमा नामथर वतन नखुलेको अं वर्ष ३०/४० कि महिला, नामथर वतन नखुलेको अं ३०/३५ को पुरुष, नामथर वतन नखुलेको अं वर्ष ३५/३६ का पुरुष रहेका छन्।

बसका सह चालक जिल्ला नुवाकोट बेलकोटगढी न.पा ६ बस्ने रोशन तामाङ (३४) को सकुशल उद्धार गरी प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा बुधबार बिहान सवा ११ बजेतिर दुर्घटनामा परेको थियो। बस दुर्घटनामा ६ जना पुरुष र २ जना महिलाको मृत्यु भएको प्रहरीको भनाई छ। बस त्रिशूली नदीमा खसेको थियो। अनियन्त्रित भएको बस राजमार्गबाट करिब ४० मिटर तल नदीमा खसेको प्रहरीको भनाई छ।

‘अहिलेसम्म ८ जनाको मृत्यु भएको, १४ जना यात्रुलाई उपचारका लागि काठमाडौं पठाएको र चालक र सहचालक गरी बसमा २४ जना रहेको पुष्टि भएको छ,’ धादिङ प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तुलाल प्रसाद जैशवारले भने, ‘चालक दीपक थापा र सहचालक रोशन तामाङ पनि घाइते छन्। उनीहरुको पनि उपचार भइरहेको छ।’

म्याग्दी कोरला बस कम्पनीले यो बस संचालन गरेको थियो। कम्पनीका अध्यक्ष मोहन केसीका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ यो बस गण्डकी–धवलागिरी यातायात प्रालिबाट संचालित थियो। केसीका अनुसार २३ सिट क्षमताको यो बस काठमाडौंबाट बिहान ७ बजे २० जना यात्रु लिएर बस हिँडेको थियो। जसमा बेनीका ६ जनाले टिकट काटेका थिए। अरु यात्रु पोखरा, पर्वत, बागलुङ लगायतका सहरका थिए। 

प्रकाशित: ६ भाद्र २०८० ११:२७ बुधबार

धादिङ बस दुर्घटना