समाज

स्वदेशमै शल्यक्रिया गराएका डा.भट्टराईले उपचार खर्च राज्यबाट नलिने

अस्पतालबाट डिस्चार्ज भइसकेपछि पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री डा.भट्टराई

काठमाडौं—पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनले सबै विशिष्ट व्यक्तिहरुले सम्भव भएसम्मको उपचार स्वदेशमा गर्नुपर्ने बताए।  शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैयाँ खर्च लागेको र औषधिमा २० हजार खर्च भएको उल्लेख गर्दै सबै खर्च आफैँले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने पनि बताए।

उनलाई अझै दुई हप्ता घरमै आराम गर्न चिकित्सकको सल्लाह छ। उनको शल्यक्रिया डा.राकेशकुमार बर्माको टोलीले टीयुआरपी प्रविधिबाट गरेको थियो।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै विशिष्ट व्यक्तिहरुले सम्भव भएसम्मको उपचार स्वदेशमा गर्नुपर्ने बताए। उनले उपचारमा संलग्न चिकित्सक र टोलीलाई विशेष धन्यवाद दिए। शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैयाँ खर्च लागेको र औषधिमा २० हजार खर्च भएको उल्लेख गर्दै सबै खर्च आफैँले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने पनि बताए।

पत्रकार सम्मेलनमा डा. राकेश बर्माले विशिष्ट व्यक्तिहरु सामान्य उपचारका लागि समेत विदेश गइरहेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेजर शल्यक्रिया नेपालमै गराउँदा आफूलाई खुशी लागेको र हौसला मिलेको जनाए। नेपाली चिकित्सकहरु पनि दक्ष रहेको बताउँदै उनले नेपाली चिकित्सकहरुलाई विश्वास गरेकोमा पूर्वप्रधानमन्त्री भट्टराईलाई विशेष धन्यवाद दिए।

प्रकाशित: २५ श्रावण २०७४ ११:०९ बुधबार

स्वदेशमै शल्यक्रिया गराएका डा.भट्टराईले उपचार खर्च राज्यबाट नलिने