समाज

छानबिन टोलीले भेट्यो पीडित परिवार

घटनास्थलको निरीक्षण गर्दै छानबिन टोली । तस्बिरः नागरिक

रौतहट – रौतहटको गरुडामा गत साउन २१ शनिबारका दिन सडक किनारको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटना सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित टोलीले घटनास्थलको निरीक्षण गरेको छ । गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखाका सहसचिव दीपक काफ्लेको नेतृत्वमा प्रहरी प्रधान कार्यालयका डिआइजी पुष्प रन्जित र सडक विभागका क्षेत्रीय निर्देशक मुक्ति गौतमसहितको टोलीले चार बालिका डुबेको खाल्डोको स्थलगत निरीक्षण गर्दै पीडित परिवारलाई पनि भेटेको छ।

गत शनिबार गरुडा नगरपालिका ४ का राम एकबाल साहका १२ वर्षीया छोरी संगीता कुमारी साह र ९ वर्षीया छोरी सुनिता, प्रेमनारायण साहकी ९ वर्षीया छोरी सुस्मिता र जोगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैनाको एकै ठाउँमा डुबेर मृत्यु भएको थियो।

छानबिन टोलीले घटनाबारे पीडित परिवार र स्थानीयसँग छलफल गरेको छ । पीडित परिवारले टोलीसमक्ष क्षतिपूर्तिको माग दावी गर्दै घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् । टोलीसँग भएको स्थानीय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको भेटमा घटनाको गहन छानबिन र भविष्यमा यस प्रकारको घटना हुन नदिन उपायबारे छलफल गरिएको थियो । सडक निर्माण गर्दा दुवैतिर खाल्डो खनेर छाड्ने  प्रवृत्तिको विकल्प खोज्न स्थानीयबासीले जोड दिएका छन्।

टोलीका प्रमुख सहसचिव काफ्लेले प्राप्त विवरणका आधारमा छिट्टै प्रतिवेदन सरकारलाई बुझाउने बताएका छन् । टोलीले सबै पक्षसित सोधपुछ गरेर प्रतिवेदन तयार पार्ने सहसचिव काफ्लेले बताए ।

छानबिन टोलीसँगै रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, नारायणी अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्याय, रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी रौतहट प्रमुख भगवान मल्ल, राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख नवीन अधिकारीलगायत कार्यालय प्रमुखको उपस्थिति थियो । 

यसैगरी, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त निर्देशक दीपेन्द्र सिंहको नेतृत्वमा आएको मानव अधिकार टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दै पीडित परिवारसित पनि छलफल गरेको छ।

यसैबीच पीडित परिवारले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा क्षतिपूर्तिको लागि निवेदनसमेत दिएका छन् ।

प्रकाशित: २५ श्रावण २०७४ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App