समाज

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षलाई स्पष्टीकरण सोधिएकोमा विरोध

नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशक संस्था अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापालाई स्पष्टीकरण सोधेको विषयमा नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बन्ध विभिन्न संघसंस्थाले निन्दा गरेका छन्। पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लिन नेपाल पत्रकार महासंघलगायतका पत्रकार सम्बद्ध संस्थाले माग गरेका छन्।

प्राधिकरणले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने ध्येयले स्पष्टिकरण सोधेको बताएका छन्। महासंघसहित नेपाल प्रेस युनियन, प्रेस चौतारी नोपल, समाजवादी प्रेस संगठन नेपाल, मधेशी पत्रकार समाज नेपाल, नेपाल पत्रकार मञ्च लगायतका संस्थाले प्राधिकरणले अनधिकृत रूपमा स्पष्टीकरण सोधिनु अशोभनीय भएको बताएका छन्। ती संस्थाले स्पष्टिकरण तत्काल फिर्ता लिन पनि माग गरेका छन्।

महासंघका महासचिव रोशन पुरीले हस्ताक्षर गरी प्रकाशित विज्ञप्तिमा प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गरी अनधिकृत रूपमा सोधिएको स्पष्टीकरण फिर्ता लिन नागरिक उ·यन प्राधिकरणलाई आग्रह गरेको छ। प्राधिकरणले सिम्रिक एयरका समेत अध्यक्ष रहेका अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको नाममा स्पष्टीकरण सोधेको थियो। ‘कुनै पनि विषयमा सम्प्रेषण भएका सामग्रीका सन्दर्भमा चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रचलित प्रावधान र पद्धति छन्,’ महासंघको विज्ञप्तिमा लेखिएको छ,‘कुनै पनि सञ्चारमाध्यममा प्रकाशित सामग्रीहरूको उत्तरदायित्व र सम्पादकीय नेतृत्व हुन्छ। सम्पादकीय स्वतन्त्रताको अभ्यासलाई आघात पुग्ने गरी सम्पादकीय समूहसँग असम्बन्धित पात्रलाई राज्यका निकायले स्पष्टीकरण सोध्नु कुनै पनि कोणबाट उचित हुन सक्दैन।’

प्रकाशित: ६ भाद्र २०८० ०३:३० बुधबार

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षलाई स्पष्टीकरण सोधिएकोमा विरोध