प्रहरी–प्रशासनलाई छलेर सुनसरी–मोरङको सीमावर्ती क्षेत्र भएर बग्ने बुढी खोला नदीबाट निर्माण सामग्री उत्खनन भइरहेको छ। यतिबेला खोलाबाट निर्माण सामग्री उत्खनन बन्द गरिएपनि बुढी खोला नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको हो।
खोलामा मजदुरी गर्ने स्थानीय भेला भएर ढुङ्गा, गिट्टी, वालुवालगायतका निर्माण सामग्री निकाल्ने अनि त्यसपछि ट्रयाक्टरबाट विभिन्न स्थानका लगि बिक्री गर्ने गरिएको छ। बर्खाको बेला बुढी खोला नदीमा बाढी आउँदा वस्ती छेउछाउँ उच्च जोखिम हुने गर्छ। यस्तो बेला पनि प्रहरी–प्रशासनलाई छलेर निरन्तर रुपमा निर्माण सामग्री उत्खनन भइरहेको छ।
असारदेखि तीन महिनासम्म उच्च जोखिमकै कारण ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्री उत्खनन गरिनु गैरकानुनी हो। तरपनि प्रहरी–प्रशासनको आँखा छलेर ढुङ्गा, गिट्टी र बालुवा निकालेर ल्याउने गरिएको छ।
मंगलबार दिउँसो ट्रयाक्टरमा लानका लागि ढुङ्गा थुपार्ने काम गरिरहेका इटहरी वडा नं. ३ कै सुजन राईले प्रायः सबैले ढुङ्गा, गिट्टी र बालुवा तयारी गरेपछि ट्रयाक्टर बोलाएर ओर्साने गरिएको बताए। सोही समयमा को २ त ४६५४ नम्बरको ट्रयाक्टर बुढी खोला नदीमा पुगेर ढुङ्गा लोड गरेर बिक्री गर्न लगेको थियो।
खोला नजिकै सामान लिनका लागि को २ त ४६७३, को २ त ५७२१, को २ त ५१७८, को २ त ४७०७ र को २ त ६०२० नम्बरका ट्रयाक्टर तयारी अवस्थामा राखिएको मंगलबार दिउँसो भेटिएका थिए।
इटहरी वडा नं. ३ को याकथुङ् चोक क्षेत्रका ६ वटा ट्रयाक्टर रहेका छन्। ती ट्रयाक्टरले निर्वाध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर स्थानीय माग आएको स्थानमा बिक्रीका लागि पु¥याउने गरेका छन्। बालुवा उत्खनन गरीरहेका कान्छा राईका अनुसार प्रायः एउटा ट्रयाक्टरले चार–पाँच पटक सामान खोलाबाट ओर्साने गरेको छ।
यसरी प्रहरी–प्रशासनको आँखा छल्ने प्रायः दैनिक एक–दुईवटा पक्राउ गर्ने गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्लेले बताए। ‘उपमहानगरपालिकाले स्टक उठाउन दिन भनेपछि खोला छेउमै कतिपयले स्टक राख्ने र मौका परेका बेला खोलाबाट उत्खनन गरेर ल्याउने गरिएको पाइएको छ,’ डिएसपी काफ्लेले भने।
प्रकाशित: ५ भाद्र २०८० १२:०७ मंगलबार