समाज

रसुवामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

रसुवा-  रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीमा वर्षासँगै आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।

मृत्यु हुनेमा ७८ वर्षका भक्त बहादुर नगरकोटी, र २३ वर्षिय मुना थापामगर र ४ वर्षका रबिन थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार राति करिव साढे १० बजे पैरेवेशी र ढकालस्वारामा खसेको पहिरोले घर पुरिँदा ७७ वर्षिय धर्म बहादुर थापा बेपत्ता भएका छन्।

पहिरोले भौतिक तथा मानवीय क्षति भएपछि जिल्लाका सुरक्षाकर्मी सोमबार बिहानैदेखि उद्धारमा खटिएका थिए।

पहिरो ठूलो भएका कारण त्यहाँ पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको ३५ जनाको टोलीले उद्धार गर्न नसकेपछि दुई वटा स्काभेटर लगेर पुरिएका व्यक्तिको उत्खनन गरिएको हो।

रसुवाको सदरमुकाम धुन्चेबाट ४५ किलोमिटर पूर्वदक्षिणमा पर्ने उक्त क्षेत्रमा जाने बाटोमा विभिन्न स्थानमा झरेको पहिरो पन्छाउने कार्य गरेसँगै करिव २ बजेतिर स्काभेटर त्यहाँ पुगेको थियो। दुई वटा स्काभेटर प्रयोग गरेर तीन ओटा शव निकालिएको र हराइरहेका एक जनाको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।

१४ परिवारलाई राहत रकम वितरण

गएराति गएको पहिरोका कारण पूर्ण रुपमा घर क्षति भएका परिवारलाई राहत रकम वितरण गरिएको छ। घर पूर्ण क्षति भएका उनीहरुलाई प्रति परिवार १० हजार रुपैयाँ वितरण गरिएको हो।

त्यस क्षेत्रमा भूकम्प पछि निर्माण भएका पक्की तथा कच्ची गरी १४ घर पूर्ण क्षति भएको छन्।

पैरेवेशीका छत्र बहादुर थापा, रामचन्द्र थापा, अजित थापा मगर, लाल बहादुर थापा, गोपाल थापा मगर, हरि बहादुर थापा मगर, खड्क बहादुर घले, दीपक घले, बाबुराम थापामगर, देबकी भुजेल, कान्छी माया थापा मगर, चन्द्र प्रसाद भुजेल, ढकालस्वाराका रामचन्द्र थापा र ब्यान बहादुर थापाको घर पूर्ण क्षति भएको हो।

त्यसैगरी पहिरोका कारण विस्थापित भएका पहिरो पीडितलाई राहत सामाग्री वितरण गरिएको छ। राहत सामाग्रीको रुपमा मन्डी ३० थान, त्रिपाल २० ओटा, केही भाडाँकुडा वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले जानकारी दिईन।

जिल्लाका अधिकांस गाउँ पहिरो प्रभावित

पहिरोको कारण जिल्लाको तीन वटा गाउँपालिका नराम्ररी प्रभावित भएका छन्। जिल्लाको तल्लोभागमा पर्ने उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको एक दर्जन स्थानमा पहिरो गएको छ।

कालिका गाउँपालिकाको कटुन्जे, माँझगाउँ, धारापानी, घुम्तीवजार, उत्तरगया गाउँपालिकाको पैरेवेशी, ढुङ्गे, नौकुण्ड गाउँपालिकाको साँगाचौर, फाम्चेत, घिचेत, युब्रा लगायतको स्थानमा गएको पहिरोको कारण साढे २ सय घरधुरी विस्थापित हुने अवस्थामा पुगेका छन्।

जिल्ला दैवि प्रकोप समिति रसुवाका अनुसार पैरेवेशीका २७, घिचेतका ४५, फामचेतमा ६०, गुम्चेतमा १२, साँगाचौरका २२ र युब्राका एक सय १० घर उच्च जोखिममा परेका छन्।

पैरेवेशीका जोखिममा परेका २७ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सो क्षेत्र पहिरोको उच्च जोखिममा परेकाले त्रिसुली थ्रि ए जलविद्युत आयोजनाको हबमा सारिएको हो । अन्य क्षेत्रमा जोखिममा रहेका वस्तीको पहिचान गरेर सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।

‘रसुवा जिल्ला पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो, यहाँका धेरै बस्ती जोखिममा परेको देखिन्छ हामी सवै वस्तीलाई सुरक्षित स्थानमा सार्न लागिरहेका छौ' न्यौपानेले भने।

प्रकाशित: २३ श्रावण २०७४ १३:२३ सोमबार

रसुवामा पहिरोमा पुरिएर तीनको मृत्यु बेपत्ता