समाज

बन्दुकको आडमा व्यापार

काठमाडौं- सैनिक कल्याणकारी कोषमार्फत व्यापारमा चासो बढाएको विषयमा आलोचना भइरहे पनि सैनिक नेतृत्वको व्यापार मोह घटेको छैन। इन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस, पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबारमा पनि संलग्न हुने भएको छ।

इन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस, पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबारमा पनि संलग्न हुने।

सेनाको सैनिक कल्याणकारी कोषमा ३९ अर्बको पँुजी छ। जसमध्ये ३४ अर्ब ५६ करोड बचत छ। यही पुँजीको भरमा उसले आगामी वर्ष इन्धन र अस्पतालको क्षेत्र बढाउने, एलपी ग्यास र जलविद्युत्मा लगानी गर्ने व्यापारिक रणनीति लिएको छ।

सैनिक प्रवक्ता झंकरबहादुर कडायतका अनुसार सेनाको कल्याणकारी कोष योजनाअनुसार पोखरा र इटहरीमा क्षेत्रीय अस्पताल बनाइने छ। त्यस्तै एलपी ग्यास उद्योग र थप २ स्थानमा पेट्रोलपम्प खोल्ने योजना छ।

सेनाले एलपी ग्यास र पम्प खोल्ने अनुमति पाइसकेको छ। कल्याणकारी कोषको पैसाबाट जलविद्युत्मा लगानी गर्ने योजना बनाए पनि सैनिक ऐन संशोधन नहुँदा जलविद्युत् व्यापारमा प्रवेश गर्ने उसको योजना साकार हुन सकेको छैन।

सेनाले रोल्पामा १२.२५ मेगावाट क्षमताको माडी खोला जलविद्युत् परियोजना नमुनाको रुपमा बनाउन चासो राखेको थियो। जलस्रोत मन्त्रालय सकारात्मक भए पनि सैनिक ऐन, २०६३ मा कोषको रकम आफू प्रवर्धक बसेर लगानी गर्न रोक लगाउने प्रावधान भएका कारण सफल हुन सकेको छैन।

'जलविद्युत्मा लगानी योजना ऐन संशोधन नहुँदा सम्भव भएको छैन, ऐन संशोधन भए तयार छौं', आइतबार सेनाको योजना सार्वजनिक गर्दै प्रवक्ता कडायतले भने।

कल्याणकारी निर्देशनालयको प्रतिवेदन, २०७३ अनुसार सेनाले सर्वसाधारणलाई समेत उपचार गर्नेगरी त्रिचन्द्र मिलिटरी अस्पताल बनाइरहेको छ। भूकम्पले पुरानो भवन भत्किएपछि अहिले आधुनिक भवन बनिरहेको छ। छाउनीमा उसको अस्पताल पहिलेदेखि चलिरहेको छ।

मध्ययमस्तरका स्वास्थ्यकर्मी उत्पादन गर्न कलेज अफ मेडिकल पोलिटेक्निकल कलेज भवन बनाउने तयारीमा छ सेना। सेनाले प्राविधिक शिक्षामा प्रवेश गर्दै उसले मेडिकल पोलिटेक्निकल महाविद्यालय चलाउने, डेन्टल सर्जरी महाविद्यालय बनाउने, चिकित्सा शास्त्र र नर्सिङमा स्नातकोत्तर तहको पढाइ सुरु गर्ने तयारी गरेको छ।

कहाँ–कहाँ छ लगानी

अहिले सेनाले पेट्रोल पम्प, चिकित्सा शिक्षा र नर्सिङ शिक्षा कलेज, विद्यालय, अक्सिजन प्लान्ट, पानी उद्योग, पार्टी प्यालेस चलाइरहेको छ।

सेनाले भण्डारखालमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चलाइरहेको छ। यसमा एमबिबिएसतर्फ १ सय १५ कोटा छ। जसमा विदेशीका लागि ८ र सर्वसाधारणका लागि ३९ कोटा छ। एमबिबिएससँगै उसले बिएससी नर्सिङमा ३० जना, पिबिबिएन कोर्षमा ४० जना र प्रविणता तहमा ४० जनालाई पढाउने अनुमति पाएको छ। प्रविणता तहका ४० कोटामा विदेशी र सर्वसाधारणका लागि १५, बिएससीमा २ विदेशीसहित १२, पिबिबिएनमा २ विदेशीसहित १२ जनाको कोटा छ।

सेनाले 'नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट' २०७० बाटै चलाइरहेको छ। उसले श्री रिपुमर्दिनी अक्सिजन प्लान्ट सञ्चालन गरिरहेको छ। सुन्दरीजल वाटर टि्रटमेन्ट प्लान्ट स्थापना भइसकेको छ। काठमाडौं र ललितपुरमा पेट्रोल पम्प चलाउँदै आएको सेनाले तनहुँको खैरेनीटार र बुटवलको रामनगरमा समेत पम्प स्थापना गरेको छ।

सेनाको विद्यालय सञ्जाल नेपालभर फैलिएको छ। भक्तपुरमा सैनिक आवासीय महाविद्यालय छ। जसमा १ हजार ९ सय ११ विद्यार्थी पढाइन्छ। जसमा ७ सय ३५ सर्वसाधारण छन्। पोखरा, धरान, सुर्खेत, कैलाली, चैनपुर र स्वयम्भूको विजेश्वरीमा पनि सेनाको विद्यालय सञ्चालनमा छ। काठमाडौंको बाँसबारीमा रिपुमर्दिनी सैनिक माबि छ। सैनिक हेडक्वाटरभित्रै उसले भाडा लिएर सार्वजनिक कार्यक्रम गर्न अनुमति दिँदै आएको छ।

३९ अर्बको शक्ति

संयुक्त राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ खटिएका सैनिकबाट लिएको पैसाबाट सुुरु भएको कोषको कुल पुँजी ३९ अर्ब पुगेको छ। लगानीका लागि सेनाको ठुलो शक्ति कोषमा रहेको यही रकम हो।

आइतबार सार्वजनिक विवरण अनुसार २०३२ सालमा १ करोड २४ लाखबाट सुरु भएको कोषमा २०७३ असार मसान्तसम्म ३३ अर्ब ६ करोड १० लाख जम्मा भएको थियो। २०७४ असार मसान्तसम्म कोषको रकम बढेर ३४ अर्ब ५६ करोड १५ लाख रुपैयाँ पुगेको छ।

सेनाले विभिन्न निकायमा ४ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको छ। कोषमा रहेको रकम र लगानीको रकम जोड्दा कोषको सम्पत्ति ३९ अर्ब ५५ करोड ५ लाख पुग्छ।

व्याजबाट अर्ब आम्दानी

सेनाको आम्दानीको बलियो स्रोत विभिन्न बैंकमा राखिएको रकबाट आउने ब्याज हो। आर्थिक वर्ष ०७२/०७३ मा उसले २ अर्ब ८१ करोड आम्दानी गरेको थियो। त्यसमध्ये १ अर्ब ५१ करोड विभिन्न वित्तीय संस्थामा राखिएको रकमको ब्याजबापत आएको हो। सहायक रथी गौरव तण्डुकारका अनुसार 'क' वर्गका २९ वटा बैंक तथा वित्तीय संस्थानमा कोषको रकम छ।

उसको आम्दानीको दोस्रो बलियो स्रोत चिकित्सा शिक्षा हो। स्वास्थ्य विज्ञान संस्थानबाट शुल्कबापत उसले  ५६ करोड रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै उसले विद्यालयहरूबाट उसले २९ करोड, शान्ति सेनामा गएका सैनिकबाट उठाएको ३ करोड १० लाख, आवासबाट १ करोड ४२ लाख, अमेरिकी डलर सटहीबाट २ करोड ८९ लाख कमाएको छ। तीन करोड ७१ लाख आम्दानीको स्रोत खुलेको छैन।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा संस्थामा रहेको सेनाको ८२ करोड रकम जोखिममा रहेकोमा अझै २७ करोड ४९ लाख रुपैयाँ उठाउन बाँकी छ।

प्रहरी र सशस्त्र पनि कम छैनन्

व्यापार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि कम छैनन्। तर उनीहरूको प्रभाव सेनाको जत्तिको भने छैन। दुबै सुरक्षा संगठनले कल्याणकारी कोषमार्फत पेट्रोल पम्प, पार्टी प्यालेस र हेल्थक्लब चलाउँदै आएका छन्।

सशस्त्रको कल्याणकारी कोषमा करिब २ अर्ब रुपैयाँ छ भने प्रहरी कल्याणकारी कोषमा २ अर्ब २९ करोड रकम छ।

सशस्त्रले कीर्तिपुरमा विद्यालय चलाएको छ। प्रहरीले साँगा र काठमाडौंमा आफ्नै विद्यालय चलाएको छ। प्रहरीले भृकुटीमण्डपमा हेल्थक्लब र पार्टी प्यालेस चलाइरहेको छ। सशस्त्रले भने मुख्यालयभित्रको कार्यक्रमस्थललाई भाडामा दिएको छ।

प्रहरीले काठमाडौंका २ स्थानमा पेट्रोल पम्प चलाइरहेको छ। उपत्यकाबाहिर अमलेखगञ्जमा पनि उसको पम्प छ। सशस्त्रको काठमाडौं, भक्तपुर र पोखरामा पेट्रोल पम्प छ। चितवनमा पम्प रहे पनि व्यक्तिको नाममा रहेकाले सशस्त्रले छाड्यो।

सेनाले झै प्रहरीले पनि मेडिकल कलेज चलाउने तयारी गरेको थियो। प्रहरी अस्पतालको क्षमता बढाएर मेडिकल कलेल चलाउने उसको प्रयास डा. गोविन्द केसीको आन्दोलनले साकार हुन सकेको छैन। प्रहरीले एलपी ग्यास प्लान्ट स्थापनाको तयारीसमेत गरेको छ।

प्रहरीले पैसा लिएर विवाह, ब्रतबन्धलगायत कामका लागि प्रहरी व्याण्ड भाडामा दिन्छ। प्रहरीले आफ्नो सामान समेत भाडामा दिन्छ। कार्यालय परिसर प्रयोगगरेबापत ३ घन्टाको ८ हजार लिन्छ उसले। प्रहरीको गाडी, घोडा, कुकुर, हतियार शुल्क लिएर अरुलाई प्रयोग गर्न दिइन्छ। हतियारसहित प्रहरी चाहिए १ घन्टाको ५ हजार रुपैयाँमै उपलब्ध हुन्छ।

प्रकाशित: २३ श्रावण २०७४ ०१:५७ सोमबार

बन्दुकको आडमा व्यापार