समाज

पैसा नहुँदा निःशुल्क अप्रेसन

ग्रिनसिटी अस्पतालमा कानको निःशुल्क अप्रेसन गरेका वीरेन्द्र विक।

आर्थिक अभावका कारण लामो समयदेखि अप्रेसन नगरेका विनायक पंचदेवल नगरपालिका –६ का १६ वर्षीय विरेन्द्र विकको निःशुल्क अप्रेसन भएको छ। विरेन्द्रको काठमाडौं धापासीस्थित ग्रिनसिटी अस्पतालले निःशुल्क अप्रेसन गरेको हो।

विरेन्द्रको कानको जालीमा प्वाल परेको थियो। अस्पतालका कान सम्बन्धी डा. सुन्दर ढुंगानाले अप्रेसन गरेका हुन्। आर्थिक अभावमा अप्रेसन हुन नसकेको बेला ग्रिनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले उपचारको सम्पूर्ण खर्च ब्यहोरेका हुन्।

१ लाख २० हजार रुपैयाँ अस्पतालका अध्यक्ष टण्डन र रोटहरी क्लब अफ काठमाडौं डाउन टाउनका अध्यक्ष थानेश्वर रेग्मीले संयुक्त रुपमा उपचारमा खर्च गरेका थिए। उपचारमा ब्यहोर्न नसक्ने बिरामीहरूलाई निःशुल्क औषधी उपचार आफुहरुले गर्दै आएको र महिलामा दुई वटा अप्रेसन पनि सिमान्कृत तथा आर्थिक अवस्था कमजोर भएका गरिबहरूलाई अस्पतालले गर्ने गरेको ग्रिनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले बताए।

प्रकाशित: ४ भाद्र २०८० ०८:२५ सोमबार