समाज

१४ घण्टापछि घाइते अस्पतालमा

सुजंग अस्पतालमा पुर्‍याइएका घाइतेहरू । तस्बिरः अरूण बम

डोटी – नौ जनाको घटनास्थलमै ज्यान जानेगरी भएको डोटी जीप दुर्घटनाका ७ जना घाइतेहरूलाई १४ घण्टापछि उपचारका लागि अस्पताल पुर्‍याइएको छ । घटना शुक्रबार राती १० बजे भएको थियो । स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्धारपछि राती १ बजे घाइतेहरूलाई दिपायल स्थित सुजंग अस्पतालका लागि ल्याउन थालिएको थियो। 

तर, बीचबाटो केआईसि‌ह गाउँपालिका–१ मा रहेको ध्याडीखोलामा पहिरो आएपछि रोकिएको थियो । त्यसपछि बिहान दिपायलबाट अर्को जीप पठाएर घाईतेहरुलाई १२ बजेमात्रै अस्पताल पुर्‍याइएको छ । 

घाइतेहरूमध्ये दुईको अवस्था निकै गम्भीर देखिएको छ । जसमा बोगटान गाउँपालिका–१ सिमचौरका ५० वर्षीय हर्क बहादुर घर्तीमगर र दल बहादुर पुनमगर रहेको सुजंग अस्पताल दिपायलले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । 

यस्तै अर्का गम्भीर भनिएका सोही ठाउँका बीर बहादुर घर्तीमगर र प्रकाश बहादुर घर्तीमगर खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनीहरू र सामान्य घाइतहरू सोही ठाउँकै नर बहादुर पुनमगर, ईन्द्र बहादुर पुनमगर र दिपक घर्तीमगरको सुजंग अस्पतालमै उपचार भैरहेको छ । 

सदरमुकामदेखि टाढा र बाटोको समस्याका कारण उनीहरूलाई समयमै अस्पताल पु¥याउन नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीका नायव प्रहरी उपरीक्षक शिब बहादुर सिंहले बताए।

दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से १ ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो  ।

मृतकहरुमध्ये यात्रु सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । जसमा ३५ वर्षीय बिष्णु बहादुर मगर, ५० वर्षीय बुढो घर्तीमगर, ४५ वर्षीय गोरख थापामगर, ४५ वर्षीया ललिता देवी पुनमगर, ४८ वर्षीय शशिराम बहादुर पुनमगर, ४० वर्षीय टेक बहादुर पुनमगर, ३० वर्षीय चन्द्र बहादुर घर्तीमगर र ५५ वर्षीय भिम बहादुर घर्तीमगर रहेका छन् । यस्तै चालक २८ वर्षीय बिष्णु नेगी भने,  शिखर नगरपालिका–१ कपल्लेकी डोटीका स्थायी बासिन्दा हुन् ।

मृतकको स्थलगत मुचुल्का र पोष्टमार्टमका लागि जिल्लाबाट चिकित्सकसहितको प्रहरी टोली घटनास्थल प्रस्थान भएको छ । मृतकहरूलाई घटनास्थलमै पोष्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए । उनले भने, ‘सबै मृतक उतैका रहेछन् । त्यसैले आफन्तलाई कम दुख होस भनेर उतै सबै काम हुनेगरी टिम परिचालन गरेका छाै‌।’

जीप सडकबाट करिब चार सय मिटर तल खसेको छ । जीपमा कूल १६ जना सवार थिए । बर्खा, चिप्लो सडक र चालककै लापरवाहीका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: २१ श्रावण २०७४ ०८:३७ शनिबार

१४ घण्टापछि घाइते अस्पतालमा