समाज

भ्यान्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको माग

महोत्तरी- सातामै एकै गाउँका तीन जनाको सर्पको टोकाईबाट मृत्यु भएपछि बर्दिवासमा भ्यान्टेलेटर सहितको सर्पदशं उपचार केन्द्रको स्थानीयले माग गरेका छन्। स्थानीयहरु वर्दिवासको गौरीडाडामा रहेको सर्पदंश केन्द्रमा उपकरण र विशेषज्ञको टोलि सहितको उपचार सेवा पाउनु पर्ने माग गर्दै स्थानीय राजु खडकाको नेतृत्वमा ११ सदस्यीय संर्घष समिति गठन गरेका हुन्।

भ्यान्टिलेटर सहितको उपचार सेवाकै अभावमा बर्दिवास नगरपालिका १ की १९ वर्षिया रवीना गौतमको बिहिबार मृत्यु भएपछि वर्दिवासका स्थानीयलाई सर्पदंश केन्द्र बर्दिवासमा तत्काल भ्यान्टिलेटरको अभाव खटकिएको थियो। यस अघि  बर्दिबास नगरपालिका —१ की अढाई बर्षीया बच्ची आइसा सिंहको गएको मंगलबार र बर्दिबास नगरपालिका —१ का १५ बर्षीय आशिष अधिकारीको गएको आईतबार सर्पको टोकाईबाट मृत्यु भएको थियो।

वर्दिवास क्षेत्र देश भरिमै सर्प दशंको बढी जोखिम भएको ठाउँ रहेकाले वर्दिवास स्थित गौरिडाँडामा रहेको सर्पदंश केन्द्रलाई भ्यान्टिलेटर सहितको उपकरण र विशेषज्ञ सहितको टोलि तत्काल व्यवस्था नगरिए नव गठित संर्घष समितिले कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्।  बिहिबार मृत्यु भएकी रविना गौतमको सर्पको टोकाईबाट मृत्यु भएपछि उनको दाहसंस्कारका लागि आर्यघाटमै पुगेका बेला वर्दिवासका स्थानीय संर्घष समिति गठन गरेका हुन्।

उक्त संर्घष समितिका पदाधिकारीहरु शनिबार काठमौडौं पुगेर स्वास्थ्यमन्त्रि गिरिराजमणि पोख्रेललाई भेटेर सर्पदंश केन्द्र वर्दिवासमा भ्यान्टीलेटर सहितको उपकरण र विशेषज्ञको टोलि सहितको उपचार सेवाको व्यवस्था गर्नु पर्ने माग बारे जानकारी गराउने संर्घष समितिका संयोजक खडकाले जानकारी दिए।

वर्दिवास क्षेत्रमा सातामै तीन जनाको विशालु सर्प गोहमन र करैत सर्पको टोकाइबाट मृत्यु भए पछि स्थानीयहरुले भरपर्दो उपचार सेवा पाउनु पर्ने माग अघि सारेका हुन। वर्दिवास क्षेत्रमा रहेको सर्पदंश केन्द्रमा विरामीहरुको उपचारका लागि भेन्टिलेटरको अभाव रहेको छ।

 

प्रकाशित: २० श्रावण २०७४ १२:२५ शुक्रबार

भ्यान्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको माग