जलविरे झरनाबाट राम्रो आम्दानी गरेको इच्छाकामना गाउँपालिकाले ओझेलमा परेको गौरी खोला झरनालाई पर्यटकीय स्थल बनाउनका लागि तयारी थालेको छ। वडा नम्बर ६ मा पर्ने गौरी झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाले पूर्वाधार क्षेत्रमा बजेट समेत राखेको छ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गौरीखोला झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेगरी योजना बनाएको बताए। पूर्वाधार निर्माण र प्रचारप्रसारको काम चालु आर्थिक वर्षदेखि काम सुरु हुने उनले बताए। ‘नौ किलोदेखि खानी गाउँसम्म सडक स्तरोन्नतिका लागि यस वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ’, उनले भने, ‘सडकको काम भएपछि पर्यटकलाई झरनासम्म जान सहज हुनेछ।’ पालिकाले यस वर्ष पर्यटन प्रवद्र्धनलाई जोड दिएको जनाउँदै उनले यहाँका पर्यटकीय क्षेत्रको एकीकृत विकास गरिने बताए।
‘वडा नम्बर ६मा नै रहेको लामो झरनाले वार्षिक २८ लाखभन्दा बढी आम्दानी गर्दछ,’ उनले भने, ‘त्यो भन्दा गौरी झरना ठूलो छ। सडक पु¥याउन सक्ने हो गाउँपालिकाको राम्रो आम्दानीको स्रोत बन्न सक्छ।’ जलविरे आउने पर्यटक गौरी झरना पनि पुग्न सक्ने उनले बताए।
अहिले यो झरना प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको छ। झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ। खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ। झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको सिँढी निर्माण गरिएको भए पनि अधुरै छ। सिँढी निर्माणको आधा काम बाँकी रहेको स्थानीयवासी ज्ञानबहादुर मगरले बताए।
प्रदेश सरकारको १५ लाख रुपैयाँ बजेटमा तीन सय ५० मिटर रेलिङ निर्माण गरिएको छ। अझै एक किलोमिटर क्षेत्रमा रेलिङ निर्माण गर्नुपर्ने मगरले बताए। ‘निर्माण गरिएको सिँढीमा पनि घाँस पलाएको छ’, उनले भने, ‘बजेटको अभावमा काम हुन सकेको छैन।’ गौरी खोला झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने धोको रहेको उनले बताए।
‘यहाँ तीन खण्डको झरना छ, जसले यसको आकर्षण थपेको छ, झरनाको छहरामा पुग्न सकिँदैन’, उनले भने। ‘सडकको सुविधा भए पर्यटकका लागि रमणिय ठाउँ छ।’ झरना पुग्न रिद्धिखोला तर्नुपर्छ। बर्खामा खोला बढ्दा तर्न सक्ने स्थिती छैन। गाउँपालिकाको खोस्रेपानी मूल र भरतपुर महानगरपालिका–२९ को ढोडेनी मूलको पानी झरनामा मिसिएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोवाट पाँच किलोमिटरको दूरीमा यो झरना पर्छ। यहाँबाट झन्डै दुई घण्टा पैदल हिँडेर पनि यो झरना पुग्न सकिन्छ। झरना नजिकै रहेको रिग्दी खोलाले पनि यहाँको वातावरणलाई मनोरम बनाउने सेते विकले बताए। उनले यो पौडी खेल्न, नुहाउन र माछाका लागि यो खोला परिचित रहेको उनले बताए।
झरनामा हिउँदको समयमा फाटफुट मानिस घुम्न आउने गरेको छन्। यो क्षेत्रमा सूर्यदेवी मन्दिर लगायतका धार्मिक क्षेत्र पनि छन्। गौरी झरनाको विकासका लागि विकास समिति समेत बनाइएको छ। तर, त्यहाँसम्म पुग्न बाटो त्यति सजिलो छैन। गौरी खोला झरना विकास समितिका अध्यक्ष कविराज गुरुङले बजेट अभावमा झरनासम्म पुग्ने पूर्वाधार विकासको काम गर्न नसकिएको बताउँछन्। उनले उहाँले सिँढीको समेत काम अधुरो हुँदा निर्माण भएको संरचना पनि भत्किन थालेको बताए।
उनका अनुसार १५ लाख बजेको व्यवस्था भए झरनासम्म पुग्ने सिँढी निर्माण गर्न सकिन्छ। रिग्दी खोलामा जल पर्यटनको समेत सम्भावना रहेको छ।
इच्छाकामना गाउँपालिकाको प्रमुख आन्तरिक आम्दानी पर्यटन नै हो। यहाँ उपरदाङगढी, लामो झरना, सिराइँचुली, इच्छाकामना मन्दिर, केवलकार लगायतका पर्यटकीय स्थलहरु छन्। यहाँबाट सुर्यदयदेखि सूर्यअस्तसम्म देख्न सकिन्छ। यी ठाउँबाट बार्षिक एक करोड हाराहारीमा गाउँपालिकाले आम्दानी गर्ने गर्दछ। इच्छाकामना गाउँपालिकाको आम्दानी पर्यटन तर्फ लम्किँदै गएको छ। यसलाई सुधार गर्दै अगाडि बढ्ने अध्यक्ष गुरुङ बताउँछन्।
प्रकाशित: ३ भाद्र २०८० १२:२५ आइतबार