समाज

भोटेकोशीको लार्चामा बेलीब्रिजको काम शुरु

चौतारा – साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम शुरु गरिएको छ। 

सडक विभागद्वारा जडान गरिने सो पुलको सबै सामान योजना स्थलमा पुगिसकेकाले अबको २०/२५ दिनमा बेलिब्रिज जडान भइसक्ने कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए । 

साबिकको स्थानभन्दा केही तल राखिने बेलिब्रिज ५० मिटर लामो हुनेछ । त्यसका लागि नेपाली सेना, सशस्त्र सीमा प्रहरी र सीमास्थित नेपाल प्रहरीलाई परिचालन गरिएको र भोटेकोशी गाउँपालिकाले समेत सहयोग पु¥याएको उनले जानकारी दिए। 

भोटेकोशी नदीको फुल्पिङकट्टी र तातोपानी जोड्ने ७० मिटर लामो पक्की पुल बगाएपछि पाँच किमीमाथि रहेका करिव पच्चिस सय तातोपानीवासीलाई आवागमनमा कठिनाइ भएको थियो । पुल बगाएपछि त्यस क्षेत्रका बासिन्दालाई पाँच घण्टासम्म पैदल हिँड्नु पर्ने भएपछि गएको शनिबार तुइन जडान गरिएको थियो । वैकल्पिक रुपमा जडित तुइनबाट वारपार गर्न वृद्धवृद्धा, बालबालिका, बिरामी र सुत्केरी महिलालाई भने सहज नभएको स्थानीयवासी बताउँछन्। 

तुइनका अतिरिक्त हाल फलामे सत्तरी सहितको फड्के (साँघु) राख्ने काम अन्तिम चरणमा पुगेको छ । फड्केमा फलामे पाता ठोक्ने र दायाँबायाँ रेलिङ राख्ने काम अन्तिम चरणमा पुगेको र सो काम पूरा भएपछि आवागमनमा सहज हुने सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक बिमल डाँगीले बताए। पहिराले बाह्रबिसे–तातोपानी सडकको २६ किमी खण्डको विभिन्न स्थानमा क्षति पु¥याएको छ। 

त्यसैगरी, तातोपानी, फुल्पिङकट्टी र मार्मीङ सहितका आधा दर्जन गाउँ अति जोखिममा रहेकाले स्थानीयवासी अन्यत्र गएर बस्न थालेका भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए। रासस 

प्रकाशित: १९ श्रावण २०७४ ०९:३३ बिहीबार

भोटेकोशीको लार्चामा बेलीब्रिजको काम शुरु