समाज

दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा

मार्तडी पुगेका राउट मुखिया बिर्खबहादुर शाहीको टोली प्रजिअसँग कुरा गर्दै। तस्बीरः नागरिक

राउटे मुखिया बिर्ख बहादुर शाही नेतृत्वको एक टोली बाजुरा सदरमुकाम मार्तडी आइपुगेको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि आर्थिक संकलन गर्नेक्रममा टोली मार्तडी आइपुगेको मुखिया शाहीले बताएका छन्। लोपन्मुख राउटे समुदाय दैलेख र सुर्खेत जिल्लाका जंगलमा बसोबास गर्दै आएका छन्।

सुर्खेत, दैलेख, कालिकोट बाजुराको कोल्टी हुदै मार्तडी पुगेका हुन्। चाड पर्वको खर्च संकलन र जिल्ला घुमफिरको क्रममा बाजुरा आइपुगेको मुखिया शाहीले जानकारी दिएका छन्। उनीहरुको टोलीलाई प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले खादा र ढाका टोपी लगाएर स्वागत गरेका छन्।

बुबा भक्तबहादुर शाही वृद्ध भएपछि विर्खबहादुर शाही राउटे समुदायका मुखिया बनेका हुन्। मुखियाको जिम्मेवारी पाए लगत्तै बिर्खबहादुर शाही जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाड पर्व खर्च संकलन गर्ने गरेका छन्।

काठका सामाग्री बनाउने र विक्री गर्ने परम्परागत पेशा संकटमा परेपछि मागेर खानु बाहेक अर्को विकल्प नभएको मुखिया शाहीको भनाई छ। पढेलेखेका छैनौ, अरु काम गरि खाने अवस्था छैन्, जुन सीप थियो, त्यो सीप काम नलाग्ने नै भइसक्यो, पालिका पुग्ने र रकम माग्ने बाहेक अर्को विकल्प नै नभएको दुखेसो मुखिया शाहीको छ।

नजिकै चाड पर्व आउन थाले, दशै तिहार पनि २ महिना पछि आउने तयारीमा छ। समुदायमा रमाइलो गर्नै पर्यो, त्यसका लागि पनि केही आशा बोकेर आएको शाहीले प्रमुख जिल्ला अधिकारी खड्कालाई सुनाएका थिए। प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयको तर्फबाट दशैं खर्च वापतको २० हजार नगद र कम्मल सहयोग गरेका छन्।

कलिलै उमेरमा राउटे समुदायको मुखियाको जिम्मेवारी पाएका बिर्खबहादुरले प्रमुख जिल्ला अधिकारीसँग खुलेरै कुरा गरेका थिए। बाजुरा आइपुग्दा बढी दुख पाएको र समस्या पनि धेरै देखेको विषय सुनाएका थिए। तीन दिन कोल्टीको बसाइ पछि मार्तडी पुगेका उनीहरुले बाजुराको सडक समस्या, खाद्यन्न अभाव हुने, महँगी बढ्ने समस्या देखेर राउटे समुदाय भन्दा बढी दुख र सास्ती बाजुरा बासीले भोग्नु परेको बताएका थिए।

'समस्या हाम्रो नै बढी हुन् जस्तो थियो, त्यो भन्दा बढी बाजुरा पुगेर, यहाँको जनताको दुख देखेर थाहा भयो, हामीले भन्दा बढी दुख र कष्ट सहनु परेको रैछ, सिडिओ साव बाजुरामा यस्ता दुख छन्, नेताहरु नभएका हुन्, की, तीनीहरुले काम नगरेका हुन्,' मुखिया बिर्खबहादुरले उल्टै प्रश्न गरेका थिए।

मुखिया बिर्खबहादुरको राउटे समुदायमा ४४ परिवारका २४६ जनाको बसोबास रहेको छ। बसोबास रहेको छिमेकी जिल्लामा दशैं, माघी लगायतका चाड पर्व खर्च माग्ने परम्परा अनुसार नै बाजुरा आएको मुखिया बिर्खबहादुर शाहीले बताएका छन्।  

दैलेखमा स्थायी बसोबास गरि बस्ने गरेका राउटेहरुले कहिल्यै सुर्खेत कहिल्यै अछाममा बस्ती सार्ने गरेका छन्। उनीहरु आफू अनुकुल स्थान र जंगल रोज्ने गरेका छन्। राउटे समुदायले दशैं र माघि पर्वलाई रमाईलो, भाईचारा र सद्भाव बाँड्ने पर्वका रुपमा मनाउने गरेका छन्।  

दशैं ५ दिन र माघी उनीहरुले तीन दिनसम्म मनाउने गरेका छन् । खसी बोका काट्ने विवाह ब्रत बन्ध गर्ने पर्वका रुपमा लिने गरेका छन्। मुखिया शाहीका अनुसार राउटेका पूर्खाहरु बाजुरामा पनि बस्नेका थिए। जंगल नासिदै गएको र स्थानीयका कारण बस्ने वातावरण नहुने देखेकोले नै अन्यत्र गएपनि जिल्लासँग सम्बन्ध सधैं रहीरहने बताएका छन्।

राज्यले मुखियाहरुका लागि १ हजार मासिक भत्ता दिने व्यवस्था गरेको छ। त्यो रकम खानलाई समेत नपुग्ने भएकोले चाड पर्व बिशेष आर्थिक संकलन गर्ने र लुगा कपडा, ओढ्ने ओछ्याउने सहयोग माग्ने पुरानै चलन रही आएको छ।

प्रकाशित: १ भाद्र २०८० ०७:२५ शुक्रबार

राउटे मुखिया प्रजिअले गरे टोपी लगाएर स्वागत दशैं तिहार