समाज

महावीरलाई बाग्लुङे युवाको साथ

बाग्लुङ- महावीर पुनले सुरुवात गरेको राष्ट्रिय आविस्कार केन्द्र निर्माणको अभियानमा बाग्लुङे युवाहरुले समेत साथ दिएका छन्। जिल्लाका जागरुक युवाहरुको समूहले ‘महावीरलाई हाम्रो साथ’ अभियान सञ्चालन गरेर आविस्कार केन्द्रका लागि सहयोग संकलन गरिरहेका छन्।

अभियानबाट अहिलेसम्म ६० हजारभन्दा बढी रकम संकलन भएको बताइएको छ। अभियान सञ्चालन गरिरहेको समूहले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी महाविर पुनको थालेको राष्ट्रिय आविष्कार केन्द्र निर्माणको महाअभियानमा सहयोग पुर्‍याउन सञ्चालित अभियानमा हाल सम्म स्वतस्फुर्त रुपमा ६० हजार बढी सहयोग जुटेको जानकारी गराएको हो।

एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई हाम्रो साथ अभियानमा उत्साहजनक सहभागिता रहेको अभियानका संयोजक सोम शर्माले जानकारी दिए। 'हामीले सञ्चालन गरेको अभियानमा उत्साह जनक सहभागिता देखिएको छ, अहिलेसम्म ६० हजार जति जम्मा भएको छ,’ उनले भने,‘स्वयंसेवी अभियान हो। अझ केही समय जारी रहन्छ।’

शर्माले संकलित रकम इमेज सहकारीको ‘महावीरलाई हाम्रो साथ’ नामक खातामा जम्मा गरिएको केही समयपछि एक मुष्ठ हस्तान्तरण गर्ने बताए। ‘नेपालमा राष्ट्रिय आविस्कार केन्द्र बन्नु सम्पूर्ण नेपालीको लागि गौरवको विषय हो,’ शर्माले भने,‘हाम्रो लागि निर्माण हुने चीजमा हाम्रो पनि स्वयंसेवी लगानी परोस् भन्ने मात्र चाहाना हो।’

प्रकाशित: १६ श्रावण २०७४ ०७:४३ सोमबार

महावीरलाई बाग्लुङे युवाको साथ