समाज

७० वर्षीय विद्यार्थी दुर्गेको उच्च शिक्षा पढ्ने धोको

काठमाडौं- ७० वर्षीय विद्यार्थी दुर्गे कामीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्चशिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन आग्रह गरेका छन्। उनले आइतबार परराष्ट्र मन्त्रालायमा मन्त्री महरालाई भेटेर आफूले स्याङ्जाको काला भैरव माविबाट एसइई परीक्षा पास गरेको जानकारी गराउँदै उच्चशिक्षा अध्ययन गर्न सहयोग व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन्। 

'मलाई ११/१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिन आग्रह गर्छु,' दुर्गे कामीले मन्त्री महरासँग भने। आफू सानो छँदा विद्यालय जान नपाएको भन्दै उनले विभिन्न गुनासा सुनाएका थिए। मन्त्री महराले उनको शिक्षाप्रतिको चाहना सम्बोधन गर्ने आश्वासन  दिएका छन्। एसइई उत्तीर्ण उनलाई बधाई दिँदै अध्ययनमा निरन्तर लाग्न मन्त्री महराले प्रेरणा दिएका थिए। 

दुर्गे कामी छ सन्तानका पिता हुन्। उनका आठ नातिनातिना छन्। उनको आकांक्षा शिक्षक बन्ने छ। सोही अवसरमा दुर्गे कामीले आफ्नो छोरा नरेन्द्र सुनार विक, साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि अनुरोध गरेका थिए। वैदेशिक रोजगारीमा साउदी गएका छोरा  तीन वर्षदेखि जेलमा रहेको जानकारी उनले गराए। के कारण आफ्नो छोरा जेलमा परेको हो त्यो भने आफूलाई थाहा नभएको उनले मन्त्रीलाई बताएका थिए। 

मन्त्री महराले नरेद्रको वास्तविक अवस्थाबारे जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने आश्वासन दिएका छन्।

प्रकाशित: १६ श्रावण २०७४ ०३:०५ सोमबार

७० वर्षीय विद्यार्थी दुर्गेको शिक्षा पढ्ने धोको