समाज

गुँला पर्व सुरु

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ।

यो पर्व काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा विशेषरूपमा मनाइन्छ। मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर धर्म, कर्मका लागि यो पर्व मनाइन्छ।

नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउँछ। यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ।

पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ। अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ। यसमा दुई कुरा थपेपछि दशशील हुन्छ। आभूषण ग्रहण नगर्ने र ब्रह्मचार्यलगायतका नियम पालना गर्नुलाई दशशील भनिन्छ।

यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ। यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ। मेलाका लागि आज बिहानैदेखि भक्तजन स्वयम्भू मन्दिर पुगेका थिए। राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ। वर्षभर निधन भएका व्यक्तिको नामबाट शृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन धेरै हुन्छन्।

काठमाडौँ महानगरपालिका वडा नं ७ चावहिलका स्थानीय राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलकजस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउँछन। चावहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ।

झरीले रोगव्याधलगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ। यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ।

चावहिल क्षेत्रमा घर–घरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ। चावहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरि बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ।

प्रकाशित: ३२ श्रावण २०८० १३:३८ बिहीबार

गुँला पर्व गुँला पर्व सुरु चान्द्रमास स्वयम्भू महाचैत्य