समाज

नेपाल–भारत ओहरदोहर गरिरहन्छन् बाघ

त्रिवेणीमा चार वर्षअघि मान्छे खान पल्केको बाघलाई नियन्त्रणमा लिदै निकुञ्जका अधिकारी । सो बाघ भारत नेपाल ओहर दोहर गर्ने पत्ता लागेको थियो । तस्बिर सौजन्य : राष्ट्रिय प्रकृति संरक्षण कोष

चितवन – वन्यजन्तुलाई बस्न राम्रो वन र आहारा भए पुग्यो । त्यो वन नेपालको होस् वा भारतको उनीहरूलाई के सरोकार । लामो सिमाना जोडिएको भारतको वालमिकी टाइगर रिजर्ब र नेपालको चितवन राष्ट्रिय निकुञ्जका बाघलाई पनि देशको सिमानाले रोक्ने छेक्ने कुरै भएन । आहारा र वासको खोजीमा बाघहरू कहिले नेपाल र कहिले भारत जाने आउने गरेको पाइएको छ ।

चितवनका र भारतका वनमा बस्ने बाघको क्यामेरा ट्रयापिङ विधिबाट फोटो खिच्ने काम बेला बेलामा भइरहन्छ । सन् २०१३ को अन्तिमतिर चितवन निकुञ्जको आडको वस्ती नवलपरासीको त्रिवेणीमा एउटा बाघले लगातार मान्छे खाएर हैरान बनायो । बाघलाई निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लियो । निकुञ्ज मुख्यालय कसराको खोरमा राखेको बेलामा त्यसको निधन भयो ।

पछि विवरण खोज्दै जाँदा सो बाघ पहिलो पटक सन् २००८ मा चितवनमै क्यामेरा ट्यापिङमा परेको थाहा भयो । त्यतिबेला नै सो बाघको तस्बिर खिचिएको रहेछ । सन् २०१० मा पनि त्यो चितवनकै क्यामेरा ट्रयापिङमा भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बताए ।

सो बाघको फोटो सन् २०१३ मा भने भारतको वालमिकी टाइगर रिजर्बमा राखेको क्यामेरा ट्यापिङमा रेकर्ड भएको पत्ता लाग्यो । यस्तो घटना नौलो नभएको अनुसन्धान अधिकृत लामिछाने बताउँछन् । सन् २०१३ मै एउटा बाघले माडीमा गाईवस्तु खाएर दुख दियो । सो बाघलाई पनि निकुञ्ज प्रशासनले नियन्त्रणमा लियो । अनुसन्धानकर्ता लामिछानेका अनुसार सो बाघको क्यामेरा ट्यापिङमा भारतमै फोटो खिचिएको रहेछ ।

निकुञ्ज प्रशासनले नियन्त्रणमा लिएर खोरमा राखेपछि सो बाघ घातक भएकोे पाइएन । केही समयपछि त्यसलाई वनमा नै छाडियो । चितवन निकुञ्जको पश्चिम क्षेत्र टेम्पल टाइगर भन्दा पर जंगलभित्र छाडेको सो बाघ पछि भारतमै देखा परेको खबर आएको अधिकारीहरू बताउँछन् । लामिछानेका अनुसार क्यामेरा ट्यापिङमा सो बाघ भारतमै भेटिएको अनौपचारिक जानकारी आएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्याल निकुञ्जको दक्षिणी सिमाना भारतको वालमिकी टाइगर रिजर्बसँग जोडिएको छ । ‘ठोरी, माडी हुँदै त्रिवेणीसम्मको लामो दुरीमा वालमिकी र हाम्रो निकुञ्ज जोडिएको छ । त्यसैले वन्यजन्तुहरू ओहरदोहर गरिरहेका हुन्छन्,’ सूचना अधिकारी अर्यालले भने । बाघ मात्रै होइन गैंडा र हात्ती पनि यताउता ओहरदोहर गर्दछन् ।

वस्तीमा आएर प्रशासनले नियन्त्रणमा लिएको दुई बाघ मात्रै होइन अरु बाघ पनि ओहरदोहर गरेको प्रमाण पत्ता लागेको छ । यी दुई बाहेक पनि सन् २०१३ मा बाघ गणनाका लागि क्यामेरा ट्यापिङ गर्दा चारवटा बाघको फोटो नेपाल र भारत अर्थात् चितवन र वालमिकी दुवैतर्फ खिचिएको थियो ।

चितवनका यी चारसहित भारतसँग सिमाना जोडिएका देशभरका निकुञ्जमा यस्ता दुवैतर्फ फोटो रेकर्ड भएको बाघको संख्या १० रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बताए । ‘जंगल जोडिएका ठाउँमा यताबाट उता गए वा उताको यता आए भनेर चिन्ता मान्नु हुँदैन । यो प्राकृतिक कुरा हो । यसलाई रोक्नु हुँदैन,’ अनुसन्धान अधिकृत लामछिानेले भने ।

चितवन निकुञ्ज देशभरमा सबैभन्दा धेरै बाघ पाइने निकुञ्ज हो । नेपालभर एक सय ९८ वटा बाघ रहेकोमा चितवन निकुञ्जमा मात्रै एक सय २० वटा बाघ रहेको सन् २०१३ को गणनामा पत्ता लागेको थियो । भारतको वालमिकी टाइगर रिजर्बमा २२ वटा बाघ छन् । चितवन निकुञ्जमा बाघ बढ्दा वरपरको वन क्षेत्रमा पनि संख्या बढ्ने अनुसन्धान अधिकृत लामिछानले बताए ।

‘वालमिकी टाइगर रिजर्बमा अहिलेको भन्दा निकै थारै बाघ थिए । चितवनमा धेरै बाघ हुँदा त्यता पनि बढेका छन् । चितवनको छिमेकी पर्सामा पनि बाघ बढेको छ । यो राम्रो पक्ष हो,’ लामिछानेले भने । वन्यजन्तु ओहरदोहर हुने विषयमा सम्वन्धित निकुञ्ज र संरक्षित क्षेत्रका अधिकारीबीच राम्रो समन्वय र जानकारी आदन प्रदान हुनुपर्ने उनले बताए ।

निकुञ्जका सूचना अधिकारी अर्याल दुवै संरक्षित क्षेत्रका  अधिकारीको बेलाबेलामा समन्वय बैठक हुने गरेको बताउँछन् । ‘कहिले हामी उता जान्छौं र कहिले उहाँहरू यता आएर बैठक बस्नु हुन्छ । वन्यजन्तुले गर्ने ओहरदोहरका विषयमा छलफल हुन्छ । वन्यजन्तु जहाँका क्षेत्रमा पुगे पनि जोगाउने दायित्व पूरा गर्ने विषयमा हामीहरू गम्भीर नै छौ‌’ अर्यालले भने ।

 

प्रकाशित: १५ श्रावण २०७४ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App