समाज

कालिकोटका खाद्य डिपो रित्तै, पाइन छाड्यो चामल

गाउँबाट चामल लिन मान्म आएका नगरिक चाम नपाएपछि रित्तै हात फर्किंदै। तस्बिर:ललित/नागरिक

कालिकोट खाँडाचक्र-२ की कल्पना विश्वकर्मा चामल खरिद गर्न सोमबार २ घण्टा उकालो हिँडेर मान्मस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामसम्म पुगिन्। घरमा खाने अन्न नभएर चामल किन्न कम्पनीको गोदाममा आएको उनी बताउँछिन्। तर, कर्मचारीले चामल सकिएको भनेपछि निरास भएर फर्किनुपरेको उनको भनाइ छ। कल्पनाका पति भारतमा छन्। ‘घरमा ४ केटाकेटी छन्, खाने अन्न छैन, आपत पर्‍यो,’ उनले भनिन्, ‘बजारमा पाइने चामलको भाउ पनि अचाक्ली बढेको छ। किन्न सकिँदैन।’

कल्पनासँगै आएकी रुता विश्वकर्माले पनि चामल नपाउँदा रित्तै फर्किनुपरेको गुनासो गरिन्। ‘खाद्यमा चामल पाइजाला भनेर आयौं। चामल छैन भनेर दिएनन्,’ रुताले भनिन्। चामल लिन उनीजस्तै ठूलो संख्यामा सोमबार मान्मस्थित खाद्यको गोदाम पुगेका स्गानीय रित्तै फर्किनु परेको छ।

खेतबारीको उत्पादनले एक महिना पनि नपुग्ने स्थानीयहरू चामल लिन खाद्यको गोदाम पुग्दा त्यहाँ पनि खाद्यान्न अभाव हुँदा रित्तै फर्किने गरेका हुन्छन्। मान्मस्थित खाद्य कम्पनीमा असारदेखि नै खाद्यान्न नपुगेको स्थानीयहरू बताउँछन्।

एकै दिन दुई सय क्विन्टलभन्दा बढी वितरण भएपछि बाँकी रहेको चामल कैदीबन्दीलाई एवं जन्म र मृत्यु कार्यमा दिनुपर्ने भएकाले अहिले सर्वसाधारणका लागि बिक्री बन्द गरिएको छ।

मान्मस्थित कार्यालय प्रमुख कमलराज पाण्डेका अनुसार सदरमुकाम मान्म शाखाले साउन ४ देखि बिक्री बन्द गरेको छ। उनले साउन ४ गते २ सय क्विन्टल बढी एकै दिन वितरण भएपछि बाँकी रहेको चामल कैदीबन्दी, जन्म र मृत्युमा दिनुपर्ने भएकाले सर्वसाधारणका लागि बिक्री बन्द गरिएको हो।

उनका अनुसार साउन २१ गतेसम्म मान्म शाखामा ६ सय २८ क्विन्टल ३७ केजी चामल भए पनि कारागारका कैदीबन्दी र जन्म र मृत्यु संस्कारका लागि प्रति व्यक्ति २० केजीका दरले मात्र दिने गरिएको छ।

कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिपरिवार २० केजी चामल निःशुल्क दिने गरेको छ। अन्य नागरिकका लागि चामल बिक्री बन्द गरेको सुनाए। साथै गाउँका कुनै पनि डिपोमा एक केजी पनि चामल नभएको उनले बताए।

स्थानीयका अनुसार कालिकोटमा गत वर्ष पनि खडेरी र बाढीले बाली नष्ट हुँदा खाद्यान्न अभाव भएको थियो। सरकारले गत वर्ष कालिकोटमा सबै गरी १३ हजार क्विन्टल चामलको कोटा उपलब्ध गराएको थियो। यस वर्ष भने सदरमुकाम मान्म शाखाको लागि ५ हजार, थिर्पु डिपोका लागि १ हजार ७ सय, पादमघाट डिपोका लागि १ हजार ५ सय, खल्लागाडको लागि १ हजार ३ सय र खीन, धौलागोह बिक्री केन्द्रका लागि १ हजार क्विन्टल गरी जम्मा १० हजार ५ सय क्विन्टल ढुवानी अनुदानको चामलको कोटा निर्धारण गरेको छ।

मान्मस्थित कार्यालय प्रमुख कमलराज पाण्डेका अनुसार सदरमुकाम मान्म शाखाले साउन ४ देखि बिक्री बन्द गरेको छ।

मान्म शाखाका लेखापाल सागर ओलीका अनुसार ढुवानीको लागि टेण्डर भइसकेको छ। साथै सदरमुकाम मान्मबाट ढुवानी गर्ने ठेकेदार पनि छनोट हुने प्रक्रियामा रहेकाले चामल आएपछि गाउँमा पठाइने ओलीले जानकारी दिए। कतिपय डिपोमा कर्मचारी नहुँदा वितरण गर्न नसकिएको बताइएको छ।

बजारको चामलको मूल्यको तुलनामा ढुवानी अनुदानमा उपलब्ध हुने खाद्य संस्थानको चामल सस्तो र गुणस्तरीय हुने भएकाले सरकारी ढुवानी अनुदानको चामल बढी खपत हुने गरेको स्थानीयहरूको भनाइ छ। खाद्य संस्थानमा १८ सयमा पाइने चामल मान्म बजारका ब्यापरीले २३ सयमा बेच्ने गरेका छन्।

गाउँका खाद्य डिपो पनि रित्तै

जिल्लाका मान्म, थिर्पु, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन धौलागोह वितरण केन्द्र अहिले खाली भएका छन्। गाउँका खाद्य डिपो तथा वितरण केन्द्र खाली भएपछि चामल लिन सदरमुकाम मान्म पुगेका सेवाग्राही खाली हात फर्किनु परेको छ।

एकै दिन दुई सय क्विन्टलभन्दा बढी वितरण भएपछि बाँकी रहेको चामल कैदीबन्दीलाई एवं जन्म र मृत्यु कार्यमा दिनुपर्ने भएकाले अहिले सर्वसाधारणका लागि बिक्री बन्द गरिएको छ।

जिल्लाका मान्म, थिर्पु, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन धौलागोह वितरण केन्द्र अहिले खाली भएका छन्।

सदरमुकाम मान्मदेखि नरहरिनाथ गाउँपालिका-५ करिब १७ कोश टाढा छ। २ हजार रूपैयाँ खर्च गरेर शुपथ मूल्यको मसिनो चामल लिन दिनभर हिँडेर सदरमुकाम मान्म पुगेका भरत सहकारी पनि पछिल्लो दिन रित्तै घर फर्किनु परेको छ। उनले भने, ‘दिनभरि हिँडेर आइयो तर चामल पाइएन। अब रित्तै घर फर्किनुपर्ने भयो।’

जिल्लाको नरहरिनाथ गाउँपालिकामा १ हजार ५ सय र रास्कोट नगरपालिकालाई हजार क्विन्टल चामलको व्यवस्था मिलाउनसमेत लिमिटेडको प्रधान कार्यालयलाई अनुरोध गरिएको छ।

प्रकाशित: ३२ श्रावण २०८० ०२:५२ बिहीबार

कालिकोट खाँडाचक्र गाउँका खाद्य डिपो पनि रित्तै