सोमबार दिउँसो विराटनगरको व्यस्त बजार क्षेत्रमा महमद हलिम खानलाई तरबार प्रहार गरेको घटनामा संलग्न आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समिर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई तरबार प्रहार घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। उनीहरूलाई बुधवार बिहान २ बजेतिर नेपाल–भारत सीमा क्षेत्र (विराटनगर)बाट पक्राउ गरिएको मोरङ प्रहरीका सहायक प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।
विराटनगर–८ का २२ वर्षीय हलिम खानलाई पक्राउ परेकाहरूको समूहले तरबार प्रहार गरेका थिए। विराटनगर–१० बाबा चोक (संसारीमाईस्थान मन्दिर)नजिक तरबार प्रहारबाट खानका दुवै हातमा गहिरो चोट (काटिएको)लागेको छ। तरबार प्रहारबाट घाइते भएका खानलाई तत्कालै घटनास्थल नजिक रहेको न्युरो अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरकै नोबेल शिक्षण अस्पतालमा लगिएको थियो। उनको हाल नोबेल मै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान थाल्दा ४ जना मात्रै देखिए पनि थप अनुसन्धान गर्ने क्रममा घटनामा संलग्नको संख्या बढेको बताउँदै, सहायक प्रवक्ता पोखरेलले भने, ‘घटनामा संलग्न ४ जनाको पहिचान पहिलो दिन खुले पनि थप अनुसन्धान गर्ने क्रममा संलग्नको संख्या बढेर ८ जना पुगेको हो। यो संख्या प्रारम्भिक अनुसन्धानबाट खुलेको हो, संलग्नको संख्या बढ्न पनि सक्छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
पुरानै रिसईबीका कारण घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। खानमाथि प्रहार गरिएको तरबार घटनास्थल नजिक रहेको झाडीमा फ्याँकेर उनीहरु फरार भएका थिए। प्रहरीले घटनामा प्रयोग गरेको तरबार झाडीबाट बरामद गरेको छ। पक्राउ परेका दुई जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरीको तयारी छ। घटनामा संलग्न भई फरार भएका ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३१ श्रावण २०८० १२:०९ बुधबार