समाज

भारतकाे ७७औं स्वतन्त्रता दिवस मनाइयाे

भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौं, चन्द्रागिरीस्थित विष्णुदेवी माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिँदै। तस्बिर: नागरिक

छिमेकी मुलुक भारतले ७७औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। ७७औं स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ। सोही अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री दाहालले प्रधानमन्त्री मोदी र भारतीय जनतालाई शुभकामना सन्देश पठाउँदै शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्।

त्यस्तै, काठमाडौंस्थित भारतीय राजदूतावासले पनि मंगलबार ७७औं स्वतन्त्रता दिवस मनायो। यो उत्सव भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’कै एक हिस्साको रूपमा रहेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर स्वतन्त्रता दिवसको शुभारम्भ गरेका थिए। त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा दिएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रूपैयाँ वितरण गरेको थियो।

यसैबीच, भारतको ७७औं स्वतन्त्रता दिवसकै अवसरमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरीस्थित विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ।

भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरी नगरपालिकाका वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक डिल्लीराम लुईंटेलले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरूप करिब ६ करोड ९ लाखको लागतमा विद्यालय भवनको निर्माण गरिएको हो। 

प्रकाशित: ३१ श्रावण २०८० ०४:०९ बुधबार

भारतको ७७औं स्वतन्त्रता दिवस मनाइयो भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल