समाज

जमिन भासिएसँगै भत्किन थाले घर

बजेडीमा पहिरो बग्न थालेको चार दशक बित्यो, तर बस्ती व्यवस्थापनका लागि विकल्पको खोजी हुन सकेको छैन। स्थानीयले सुरक्षित बासका लागि माग गरिरहेका छन् तर बस्ती सार्ने ठोस योजना न राज्यले अघि सारेको छ न राज्यका निकायमा प्रतिनिधित्व गर्ने व्यक्तिबाटै निर्णायक पहल देखिन्छ।

२०४० सालमा बुढीगंगा नगरपालिका– २ बजेडीमा पहिलोपटक पहिरो बग्न थालेको हो। स्थानीयका अनुसार त्यतिबेला तत्कालीन नेता प्रकाशबहादुर सिंहले बस्ती छाड्न र कैलालीको फूलबारीमा बस्न खबर पनि पठाए, तर स्थानीयले सहजै ठाउँ छाड्न सकेनन्, सिंह पनि बस्ती सार्ने ठोस योजना लिएर गाउँ आएनन्।

२०५० सालपछि पनि गुइगाड खोलाको कटानले बजेडी, गुइवन र गुम्लागाउँलाई नै असर पार्ने गरी पहिरो बग्न थाल्यो, जो बग्ने क्रम रोकिएको छैन। त्यो बेलाको भन्दा यो वर्ष बढी जोखिम निम्त्याएको देखिन्छ। गाउँमा नचर्किएको कुनै घर भेटिँदैन। जमिनको सतह पूरै बसिसकेको छ। कतै २ मिटर कतै १ मिटरसम्म जमिनको सतह भासिएपछि घर चर्कने र भत्किने क्रम बढेको छ भन्छन् स्थानीय मनिराज जैसी। बजेडीमा करिब १ सय ३० परिवारको बसोवास छ। २५ जति परिवार पूर्णरूपमा विस्थापित भए। उनीहरू सुरुमा दोधारा र चाँदनी बसे। पछि भारतको कमाइले गुलरियामा बस्ती बनाएर बसेको जैसीले जानकारी दिएका छन्।

सिंगो बजेडी बस्तीको खेतीयोग्य जमिन चिराचिरा परेको छ। बस्ने घर चर्किएका छन्। केहीका भत्किसकेका छन्। एक सातायता मात्र १३ बढी घर भत्किएको बुढीगंगा नगरपालिकाले जनाएको छ। एउटा सिंगो बस्ती विस्थापित भएर गाउँ छाडेर गएको केही वर्ष थप क्षति बेहोर्नु परेन, तर केही वर्षयता कुनै बर्खा बजेडीवासी शान्त मनले रात कटाउन पाएका छैनन्। पानी नपरेको दिन छैन। छेउमै गुइवन, गुम्लागाउँ र बजेडीको वर्षौं पुरानो पहिरो बगिरहेको देखिन्छ। आँखा चिम्लेर सुत्न मन लाग्ने कुरा धेरै टाढाको भयो, उभिएरै रहन सक्ने अवस्थासमेत छैन।

सिंगो बजेटी बस्तीको खेतीयोग्य जमिन चिराचिरा परेको छ। बस्ने घर चर्किएका छन्। केहीका भत्किसकेका छन्। एक सातायता मात्र १३ बढी घर भत्किएको बुढीगंगा नगरपालिकाले जनाएको छ। एउटा सिंगो बस्ती विस्थापित भएर गाउँ छाडेर गएको केही वर्ष थप क्षति बेहोर्नु परेन, तर केही वर्षयता कुनै बर्खा बजेडीवासी शान्त मनले रात कटाउन पाएका छैनन्। पानी नपरेको दिन छैन।

घर भत्किँदा खरका छाना बनाएर, पाल टाँगेर बस्न हुन्थ्यो, बर्खा कटाउन सास्ती भए पनि मुस्किल हुने थिएन। सिंगो बस्ती बसेको जमिन जुनसुकै बेला पहिरोमा मिसिने अवस्था छ, जीउ जोगाउने ठाउँसमेत नभएको दुःख सुनाउँछन् पीडित जोगी ल्वार। ल्वारको परिवार तीन दिनदेखि खरको छानामुनि बस्न बाध्य छ। घरमा ९ जनाको परिवार छ। ओढ्ने कपडा, खाने गाँसको टुंगो छैन, बाहिर बस्नु, मागेर खानु यस्ता दुःख कसैलाई भोग्न नपरोस् भन्छन् जोगी। जोगीले भोगेको यो समस्या पहिलो होइन, सास्तीमा दशक बिताएका छन्। जोगीको जस्तै समस्या डम्म ल्वारको पनि छ। उनको घर भत्किएको दुई दिन भयो। चर्किएको अवस्थामा घरमै बस्यौं। पूरै भत्किएपछि अन्यत्र सर्नुको विकल्प रहेन, खरक लगाएर ६ जनाको परिवार रात बिताउन बाध्य छ, डम्म भन्छन्। जोगी र डम्म बजेडीका प्रतिनिधि पात्र मात्रै हुन्।

बसोवास गर्नेमध्ये ६० प्रतिशत घर पूर्णरूपमा चर्किएको अवस्था छ। २० बढी परिवार घर भत्किएरै विस्थापित बनेका छन्। कतिपय घरको आँगन भासिइसकेकाले ढिलोचाँडो भत्किने बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिएका छन्। बानियाँको नेतृत्वमा उपप्रमुख माया कुँवर, समन्वय समिति सदस्य हिक्मत थापासहितको टोलीले सिंगो बस्तीको अनुगमन गर्यो। मान्छे बस्नका लागि उपयुक्त नदेखिएको र पहिल्यैदेखि नै बस्ती सार्नुपर्ने माग उठेकाले पालिकाका तर्फबाट अनुगमन गरिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन्। स्थानीयले ९८ परिवारको विस्थापित हुने सूचीसहित नगरपालिकामा निवेदन दिएका छन्। अनुगमन टोलीले घर भत्किएका, चर्किएका, जमिन भासिएका र पहिरोले पहिल्यैदेखि भत्काएर क्षति सहन बाध्य सबैको हकमा बस्ती विकासको अवधारणा अघि सार्ने लक्ष्यसहित पालिका लागिपरेको आश्वासन दिएको छ।

गाउँमा कक्षा ८ सम्मको आधारभूत विद्यालय छ। त्यो पहिरोकै डरले नियमित सञ्चालन हुन सकेको छैन। बालबालिका र वृद्धवृद्धाको बेहाल छ। खाने, लाउने र बस्ने कुनै टुंगो छैन। सुरक्षित स्थान खोजेर पठाउनुबाहेक विकल्प नरहेको बताउँछिन् नगर उपप्रमुख माया कँवर।

प्रकाशित: २९ श्रावण २०८० ०३:०२ सोमबार

जमिन भासिएसँगै भत्किन थाले घर