समाज

छोरो बचाउन बाबु खाडी मुलुक

पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य बालक मेघराज कोइराला ।

इलाम – जिल्लाको देउमाई नगरपालिका–६, शान्तिडाँडाका ५ वर्षे मेघराज कोइराला उपचारमा आर्थिक अभावले शल्यक्रियामार्फत पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य छन् । परिवारले उपचारमा लाग्ने मोटो खर्च जुटाउन नसक्दा उनी जन्मेको १९ दिनदेखि अहिलेसम्म पेटको प्वालबाट दिसा गर्न बाध्य भएका हुन् ।

जन्मेको दोस्रो साता अचानक बालक मेघराजको फेट फुलियो । जिल्ला अस्पताल ल्याउँदा उनको यहाँ उपचार सम्भव भएन । तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइयो । त्यहाँ पनि उपचार सम्भव नभएपछि भारतको सिलिगुडीस्थित पारामन्ड अस्पताल लगेर उपचार गरियो । शिशु मेघराजलाई बचाउन डाक्टरले पेटमा प्वाल पारेर दिसा गर्ने विकल्प बनाइदिए । डाक्टरले पुनः मलद्वारबाटै दिसा गर्नेगरी उपचार गर्न सकिने छर धेरै रकम खर्चिनुपर्ने सुझाव दिएपछि निम्न आर्थिक अवस्था रहेको उनको परिवारले उपचार गराउन नसकेको हो । 

बनिबुतो गरेर परिवार पालिरहेको मेघराजको परिवार अहिले इलाम नगरपालिका–५ स्थित बिब्ल्याँटेको एक घरमा आश्रय लिएर बसेको छ । ‘डाक्टरले मेजर अपरेसन गर्नुपर्ने र पैसा धेरै लाग्ने सुझाव दिएका छन्, बनिबुतो गरेको पैसाले घर चलाउनै मुस्किल छ,’ मेघराजका बुबा निर्मलले भने, ‘५ वषर्कको हुँदासम्म बिजोक हेरेर बाँच्नुपरेको छ । जति उमेर बढ्दैछ, छोराको बिजोक पनि त्यत्तिकै बढिरहेको छ ।’ 

उनले सिलिगुडीमा छोराको उपचार गर्दा ४ लाख रुपैयाँ खर्च भइसकेको बताए । राम्रो अस्पतालमा देखाउन नसकेकाले थप उपचारमा कति रकम लाग्छ भन्ने चाहिँ थाहा नभएको उनको भनाइ छ । पेटमा पारिएको प्वालबाट दिसा चुहिइरहने गरेकाले बालक मेघराज उमेर भएर पनि स्कुल जान सकेका छैनन् । ‘कपडा लगाउँदा पनि बेला–बेला सफा गरिरहनुपर्ने भएकाले नानीलाई स्कुल पठाउन पाएको छैन,’ निर्मलले सुनाए, ‘कतैबाट उपचार खर्चसम्म भइदिए छोराको स्कुल पढ्ने रहरसमेत पूरा हुने थियो ।’ बालकमा अन्य कुनै रोगको समस्या भने छैन । 

छोराको पहिलेकै उपचारको ऋण तिर्न निर्मल रोजगारीका लागि खाडी मुलुकसमेत गए । तर, त्यहीबेला उनकी पत्नी बिजोक अवस्थाको छोरो मेघराजलाई छाडेर अर्कैसँग बिहे गरेर गइन् । पत्नीले घर छाडेपछि निर्मल दुई महिनामै विदेशबाट घर फर्किए र छोराको शल्यक्रिया गराउन बिपी प्रतिष्ठान नै लिएर गए । तर, प्रतिष्ठानले बालकलाई काठमाडौंको टिचिङ हस्पिटल लैजान सुझायो । ‘पहिलाकै ऋण तिरिसकेको छैन, थप उपचारलाई कति पैसा लाग्छ भन्ने पनि थाहा नभएर काठमाडौं लैजाने आँट आएको छैन,’ निर्मलले भने, ‘छोराको उपचार खर्च जोहो गर्न फेरि विदेश जाँदैछु।’

निर्मल बिरामी छोरालाई हजुरबुबा–हजुरआमाको साथमा छाडेर पुनः वैदेशिक रोजगारीमा जान काठमाडौं पुगेका छन् । उनको आउँदो २८ तारिख विदेशका लागि उडान छ । ‘पैसा कमाउने अरू कुनै बाटो छैन, सरकारले पनि हामीजस्तालाई सहयोग गर्छ भन्ने त सुनेको छु तर कहाँबाट कसरी सहयोग माग्ने भन्ने नै थाहा भएन,’ उनले सुनाए, ‘२–३ वर्ष विदेशमै कमाएर छोराको उपचार गराउने धोको छ ।’

 

प्रकाशित: ७ श्रावण २०७४ १०:०८ शनिबार

छोरो बचाउन बाबु खाडी मुलुक