न चामल छ न नुन छ न छ पानी बत्ती
चिलगाडी नि आउन छोड्यो हाम्मा दुःख कति ?
नेता गया काठमाडौंमा, जनता कठै काँ जान
उब्जनी हुँदैन भौती, भोकमरीमा क्या खान ?
मुगुका पत्रकार कविराज कार्कीले जिल्लाको अहिलेको अवस्था समेटिएको देउडा गीत फेसबुकमार्फत सार्वजनिक गरे। कार्कीले लेखेजस्तै अहिले कर्णालीमा खाद्य संस्थानका गोदाम रित्तिएका छन्। काठमाडौंमा सुनका कुरा भइरहँदा कर्णालीमा नुन नपाएर आन्दोलन गरिरहनुपरेको यथार्थता छ। राज्यले कर्णालीलाई अनुदानका नाममा मागिखाने बनाएको छ। त्यसकारण भएका पाखाबारीमा पनि उब्जनी गरिन्न।
यहीबेला सरकारले कर्णालीमा हवाई उडान ‘बन्द’ गरिदियो। कर्णालीको भौगोलिक विकटता र अवस्था नबुझेर काठमाडौंले नियम लादिदिँदा कर्णाली अहिले छटपटाएको छ। साउन १५ गतेदेखि लागु भएको ‘अप्रेसन आवर’ले कर्णालीले कति दुःख र क्षति बेहोरिरहेको छ भन्ने जान्न हुम्लाका यी दुई घटना काफी छन्।
हुम्लाको सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीले झाडापखालाले थलिएका सात महिने छोरा रोहितलाई जिल्ला अस्पतालमा भर्ना गरे। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले आइसियुमा राखेर उपचार गर्नुपर्ने भन्दै सुुविधासम्पन्न अस्पताल पु¥याउन सुझाए। राष्ट्रिय सडक सञ्जालसँग हुम्ला जोडिएको छैन। यहाँको एक मात्र विकल्प हवाई सेवा हो। सरकारको नयाँ नियमले अहिले १२ बजेपछि सिमकोट विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर उड्न पाउँदैनन्। थप उपचारका लागि नेपालगन्ज वा सुर्खेत ल्याउने विकल्प सकिएपछि कालीबहादुरले बिरामी छोरालाई घर पु¥याए। बुधबार उनको मृत्यु भयो।
सिमकोटकै सुरज सुनारका ६ महिने छोरा इमरानको पनि जहाज नचल्दा साउन १८ गते मृत्यु भयो। उनी पनि झाडापखालाले थलिएका थिए। ६ महिने बालकको उपचार आइसियुमा राखेर गर्नुपर्ने थियो। त्यो सुविधा जिल्ला अस्पताल हुम्लामा छैन। त्यहाँका डाक्टर कैलाश लामाका अनुसार सुविधा सम्पन्न ठाउँमा समयमै दुवै बालकलाई लगिएको भए बाँच्ने सम्भावना धेरै थियो। ‘अभिभावकले अस्पताल पु¥याउनेबित्तिकै हामीले चेकजाँच गरेर सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनू भनेर रेफर गरिसकेका थियौं,’ उनले भने, ‘जहाज नचल्दा दुई बालकले ज्यान गुमाउनुप¥यो।’
डा. लामाले जहाज नचलेर उपचार अभावमा बालकहरूको मृत्यु हुँदा अत्यन्तै दुःख लागेको बताए। ‘जहाज नपाएर एक बालकको अस्पतालको बेडमै मृत्यु भयो, अर्का बालकको घरमा लगेपछि मृत्यु भयो,’ उनले भने, ‘आफ्ना सन्तानलाई उपचार गराउन नपाउँदाको पीडा बाबुआमालाई कति होला ?’ उनले जहाज कुर्दाकुर्दै मृत्यु हुने अवस्थाको अन्त्य हुनुपर्ने बताए।
विमान नचल्दा र समयमै विमानको टिकट नपाउँदा आफूले छोरो गुमाएको सुनारले बताए। छोरालाई नेपालगन्ज लान विभिन्न एयरलाइन्सका कार्यालयमा धाए पनि टिकट नपाएको उनले बताए। ‘पहिलेजस्तो दिउँसो जहाज आउँदैनन्, १२ बजेअघि कहिलेकाहीँ आउने जहाजको टिकट पाइँदैन,’ उनले भने, ‘छोरालाई समयमै अस्पताल पु¥याइदिएको भए बचाउन सकिन्थ्यो कि ?’ सिमकोट विमानस्थल १० बजेअघिसम्म कुहिरोले ढाकिएको हुन्छ। १२ बजेपछि सरकारले विमान चलाउन दिँदैन। साबिकको कर्णालीका पाँच जिल्लामध्ये चार जिल्लामा नियमित हवाई उडान हुन्थे। कालिकोटको सुनथराली विमानस्थल तयार भए पनि सञ्चालनमा आएको छैन। हुम्लाको सिमकोट विमानस्थल, मुगुको गमगढी विमानस्थल, डोल्पाको दुनै विमानस्थल र जुम्लाको जुम्ला विमानस्थलमा बेलुका ५ बजेसम्म जहाज चल्थे। हेलिकोप्टर त अझै ढिलो समयसम्म सञ्चालन हुन्थे।
सरकारले नयाँ नियम लागु गरेसँगै दुनै र गमगढी विमानस्थलमा विमान देखिएका छैनन्। मुगुको छायानाथ रारा नगरपालिकाकी दुर्गा लावट ६ महिनादेखि थलिएकी छन्। जिल्ला अस्पताल मुगुले उनलाई थप उपचारका लागि काठमाडौं जान भनेको छ। दुर्गाका बुवा रामलालले चिलगाडी (जहाज) नआउँदा छोरीलाई ‘ठुलो अस्पताल’ लान नपाएको बताए। ‘यहाँका डाक्टरले तल (काठमाडौं) लैजाऊ भनेका छन्,’ उनले भने, ‘चिलगाडी आउँदैन, बर्खा लागेकाले गाडी पनि आउँदैन, मेरी छोरी अकालमै मर्ने हो कि भन्ने चिन्ता छ।’ उनले चिलगाडी आइदिए एक घण्टामै छोरीलाई नेपालगन्ज पुर्याउन सकिने बताए।
नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि लागु हुने गरेर हिमाली तथा पहाडी क्षेत्रका २९ विमानस्थलमा बिहान ६ बजेदेखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। यसको प्रत्यक्ष मार अहिले कर्णालीका नागरिकहरू परिरहेका छन्। नागरिक उड्डयन प्राधिकरणका कर्णालीका जिल्लामा कार्यरत कर्मचारी मात्रै होइन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूले पनि विमान उडानको तालिका परिवर्तन गर्न लिखित पत्र नागरिक उड्डयन प्राधिकरण र सरोकारवाला मन्त्रालयलाई पठाएका छन्। ‘कर्णालीका सन्दर्भमा यो अव्यावहारिक निर्णय भयो, सच्याइनुपर्छ भनेका छौं,’ हुम्लाका प्रजिअ श्रीनाथ पौडेलले भने, ‘सडक नै नभएको जिल्लामा ६–१२ बजेसम्म मात्रै विमान चला भन्नु व्यावहारिक मानिँदैन।’ उनले विमान नचल्दा बिरामी, विद्यार्थीलगायत मर्कामा परेको बताए।
बर्खाको समय भएकाले मुगु विमानस्थल बिहान १० बजेसम्म खुल्दैन। कुहिरोले ढाकिएको बेला विमान आउने कुरा भएन। दिउँसो मौसम सफा हुन्छ तर विमान आउँदैन। ‘अप्रेसन आवरमा यहाँको मौसम खुलेको हुँदैन,’ ताल्चा विमानस्थल प्रमुख रोमन भट्टराईले भने, ‘दिउँसो मौसम सफा हुन्छ, अप्रेसन आवरका कारण विमान आउँदैनन्।’ उनले कर्णालीका सन्दर्भमा यो व्यावहारिक नभएको बताए। ‘हामीले कर्णालीको अवस्था, यहाँका जनताका गुनासा केन्द्रीय कार्यालयमा टिपाएका छौं,’ उनले भने, ‘अहिलेसम्म त्यसको जवाफ आएको छैन।’
महानिर्देशकले मानेनन् मन्त्री भेट्न
१२ बजेपछि जहाज र हेलिकोप्टर नचल्दा कर्णालीका नागरिकहरूले सास्ती भोग्न थालेपछि यसबारे कुरा गर्न कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी काठमाडौं गए। कर्णालीमा हवाई उडानमा लागेको नयाँ नियमले पारेको असर, नागरिकले खेप्नुपरेको सास्ती र कर्णालीको भूगोल र मौसमबारे जानकारी दिन नागरिक उड्डयन कार्यालय पुगेका उनलाई महानिर्देशक प्रदीप अधिकारीले भेट्न मानेनन्।
‘सुरुमा फोनबाटै कुरा गर्न खोजेको थिएँ, फोन उठेन,’ मन्त्री बिसीले भने, ‘भेट्न जाँदा पनि भेट पाइनँ।’उनले अप्रेसन आवर अव्यावहारिक भएको बताए। बिसीका अनुसार घाँसे मैदान हुँदा लागु भएको निर्णयलाई अहिले आएर फेरि लागु गर्नु जनतालाई दुःख दिने नियत मात्रै भएको हो। ‘उतिबेला विमानस्थलहरू साना थिए, घाँसे मैदान थिए, थोरै हावा चल्दा, पानी पर्दा दुर्घटनाको डर हुन्थ्यो,’ उनले भने, ‘त्यतिबेलाको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउनु भनेको जनतालाई सरासर दुःख दिने काम मात्रै हो।’ हिमाली तथा पहाडी क्षेत्रका सबै विमानस्थलहरू कालोपत्रे भइसकेका छन्। रन–वे पनि पहिलेको तुलनामा विस्तार गरिएका छन्। मुगुका कार्कीले जहाज नआउँदाको पीडा र यसले भोलिका दिनमा ल्याउन सक्ने समस्याको संकेत गरेको गीतको तल हुम्लाका भक्त शाहीले कमेन्ट गरेका छन्,
राज्य सत्ता उनैको हो कर्णालीको हैन
दुःख पीडा सिरानी छन्, कहिल्यै मनको भैन
हुन पनि हवाई सुरक्षाका नाममा गरिएको निर्णय कार्यान्वयनअघि कर्णालीलाई एकपटक सोधेको भए, यहाँको भौगोलिक र मौसमको अवस्थाको राम्रोसँग अध्ययन गरेको भए कर्णालीले अहिले पाउँदै आएको दुःख पाउने थिएन।
प्रकाशित: २८ श्रावण २०८० ०१:१७ आइतबार