समाज

आफ्नो पारिश्रमिक नगरवासीको हितमा प्रयोग गर्दै उपमेयर राई

कृषकलाई घाँसको बिउ बाँड्दै उपमेयर राई। तस्विरः महेश्वर

अहिले धेरै स्थानीयतहका जनप्रतिनिधिहरु भ्रष्टाचारको आरोप खेप्दै सफाईका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाईरहेको अवस्था छ। मुद्दा नपरेका जनप्रतिनिधिहरु पनि कुनै न कुनै आर्थिक आरोपमा नबिलुटिएको बिरलै छन्। पैसा कमाउने लालचमै कतिपयले फर्जी बिलभपाई बनाउनेदेखि आफन्त र निकटहरुलाई सेटिङमा उपभोक्ता समिति र विकास योजनामा ठेक्कापट्टा पार्नेसम्मको हर्कत गर्न पछि परिरहेका छैनन्।

यस्तै बेथितिको जगजगीबीच खोटाङका एक जनप्रतिनिधि अपवादका रुपमा देखिएका छन्। सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगर उपप्रमुख विशन राई नगरपालिकाबाट पाएको १ वर्षको पारिश्रमिक र तलब भत्ता नगरवासीको हितमा प्रयोग गर्दैछन्। उपमेयर राईले आर्थिक वर्ष ०७९/८० मा पाएको पारिश्रमिक र बैठक भत्ताबापत १ लाख ५० हजार रुपैयाँ उन्नत जातको घाँसको बिरुवा किनेर नगरवासी किसानलाई वितरण गर्दैछन्।

किसानहरुलाई व्यावसायिक पशुपालन कार्यमा लगाउँदै जीविकोपार्जन र आयआर्जन गर्न प्रोत्साहनस्वरुप उन्नत जातको घाँसका बिरुवा निःशुल्क वितरण गरेको राईले बताए। चुनाव जितेदेखि नै कृषकहरुलाई व्यावसायिक पशुपालन गर्न हौस्याउँदै आएका उपमेयर राईले समृद्धिको मुख्य माध्यम कृषि नै भएकोमा विश्वस्त भएर स्थानीय सरकारमा आएदेखि नै किसानलाई प्रोत्साहन गर्नुपर्ने पक्षमा लागेका छन्।

‘गाउँघरमै कृषि र पशुपालनमा लागेर आयआर्जन गरी आत्मनिर्भर बन्न सकिने मात्र होइन, यहीँ पेशाबाट धनी र समृद्धशाली पनि बन्न सकिन्छ’ उनमा अटल विश्वास छ ‘यै कुरालाई लिएर चुनावमा गएको र जितेपछि प्रतिबद्ध रहँदै कृषकलाई प्रोत्साहन दिँदै आएको छु।’

यही नारा पुरा गर्ने उद्देश्यले उपमेयर राईले १५ वटा वडा रहेको जिल्लाकै ठुलो नगरपालिकाका ११ वडाका ५ सय २३ घरधुरी किसानलाई नेपियर र अम्लिसो जातका उन्नत घाँसको बिरुवा खरिद गरेर वितरण गरेका हुन्।

राईले वडा नं. १ दिक्तेलका १ सय घरधुरी किसानलाई यो घाँसको बिरुवा बाँडका छन् भने २ नं. सोल्माका ५०, ३ बाम्राङका ५०, ४ खाल्लेका ३०, ५ लफ्याङका ३०, ६ नेर्पाका १ सय घरधुरी किसानलाई बिरुवा वितरण गरेका छन्। त्यसैगरी वडा नं. ७ दोर्पा चिउरीडाँडाका ५०, वडा नं. ९ निर्मली डाँडाका ३०, १३ नुनथलाका ३०, १४ बुईपाका ३० र वडा १५ विजयखर्कका ५०, किसानलाई घाँसको बिरुवा निःशुल्क वितरण गरेको बताए।

उपमेयर राईले नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियरको बिरुवा वडा नं. ८ दोर्पाचिउरीडाँडा र वडा नं. ९ निर्मलीडाँडाका किसानको नर्संरीबाट खरिद गरेर ल्याएको बताए। त्यस्तै अम्लिसोका बिरुवा वडा नं. ३ बाम्राङको नर्सरीमा उत्पादन गरिएको हो। धेरै स्थानीयतहहरुले खर्च गरी गरी जिल्ला बाहिरबाट बिरुवा खरिद गरेर ल्याउने गरेकोमा उपमेयर राईले भने आफ्नै गाउँ ठाउँमा उत्पादित रैथाने बिरुवा ल्याएर वितरण गरेका हुन्। बाहिरबाट बिरुवा ल्याउँदा एकातिर पैसा बाहिर जाने र अर्कातिर विकासे बिरुवाको नाममा रैथाने बिरुवा नासिँदै जाने भएकाले स्थानीय जातको घाँसलाई प्रवर्द्धन गर्न रैथाने बिरुवाको उपयोग गरिएको उनको भनाई छ।

दिरुमझुवागढी नगरपालिकाले कृषि पशुपालनलाई व्यावसायिक बनाउँदै अघि बढ्ने नीति लिएर चालु आर्थिक वर्ष १ करोड बजेट विनियोजन गरेको छ। नेपालीहरूमा निर्वाहमुखी पशुपालन र परम्परागत कृषि प्रणाली समाईराख्ने बानी रहेको भन्दै उपमेयर राईले अव निर्वाहमुखी होइन, व्यावसायिक र आय प्रतिस्थापन गर्नेखालका कृषिकर्ममा ध्यान दिने गरी नगरपालिका अघि बढेको बताए। उनले आगामी वर्षदेखि नगरलाई मासु र दूधजन्य पदार्थमा आत्मनिर्भर बनाउने उद्देश्यले चालु वर्ष भैँसी र बाख्रा पालन कृषकलाई अनुदान दिन बजेट विनियोजन गरिएको बताए।

प्रकाशित: २७ श्रावण २०८० ११:०३ शनिबार