समाज

निर्माणको कामले स्थापित अंगबहादुर ओली

इमानदारीता र कामप्रतिको जिम्मेवारी निर्वाहमा निर्विवाद छवि

बुढीगंगाका नगर प्रमुखबाट सम्मानीत हुदै, अंगबहादुर ओली ।

निर्माण व्यवसायी देश निर्माणका सारथी हुन् । विकासका साझेदार हुन् । तर आम नागरिकको बुझाइ ठिक उल्टो छ । निर्माण व्यवसायीको कार्यशैली, जिम्मेवारी प्रतिको इमान्दारीता र आम नागरिक प्रतिको विश्वास गुमाएका छन् । आफ्ना लागि जे पनि गर्ने, निर्माणका नाममा ठगी र दलाली गर्ने, राज्यको लगानीको चरम दुरुपयोग गर्ने समूह नै निर्माण व्यवसायी हुन्, भन्ने गलत मान्यता हाबी हुदै गएको छ ।

तर त्यो सबैका हकमा लागु छैन् र सबै निर्माण व्यवसायी त्यस्ता पनि छैनन् । कोहीले निर्माणकै कामबाट सामाजिक सम्मान र आर्थिक रुपमा सफलता हासिल गरेका उदारण पनि छन् । त्यो उदारणीय सूचीको अग्रभागमा आउने नाम हो, अंगबहादुर ओली । ओलीले निर्माण व्यवसायीको काम थालेको धेरै भएको छैन् ।  

२०७५।०७६ पछि मात्रै निर्माणको काममा हात हालेका ओलीले छिटो समयमा नै नाम र सम्मान दुबै कमाएका छन् । न्यू बढालेक निर्माण सेवाका सञ्चालक ओली सुरुमा भारतका पहाडमा भारी बोक्ने काम गथ्र्ये । स्कुल छोडेर सानैमा भारत लागेका ओलीले यो उचाइ र स्थानको अपेक्षाको कल्पना समेत गरेका थिएनन् ।

सानै उमेरमा बुबा गुमाए । काँधमा आफू पछिका दुई भाइ र एक बहिनीको जिम्मेवारी थपियो । घरको उत्पादनले खान समेत पुग्ने अवस्था थिएन् । परिवारकै भविष्यका लागि भारतका रानीखेत, अल्मोडा, पिथौलागड, बागेश्वर, द्धाराहाट लगायतका शहरमा बसे । भारी बोके । त्यसैको आम्दानी बचाएर खच्चड व्यवसाय सुरु गरे ।

खच्चड व्यवसाय थालेको २ वर्ष पछि गाउँमै व्यापार सुरु गरे । कान्छो भाइ र श्रीमतिलाई व्यापारमा लगाए । आफूले खच्चड नै चलाइरहे । त्यही व्यवसायबाट जेठो भाइलाई हेल्थ असिस्टेन्ट पढाए । भारी बोकेर गुजारा चलेको जीवन सफलता तिर अघि बढीरह्यो । गाउँमा सडक बाटो पुगेपछि ट्याक्टर किने, गाउँ र अत्तरियामा घर बनाए, घरेडी जोडे। दिनरात नभनी संघर्ष गरिरहेका ओलीलाई सफलताले साथ दिइरह्यो ।  

शुन्यताको संघर्षले उठेको ओलीको जीवन संघर्षबाटै स्थापित बन्यो । हाल उनीसँग आर्थिक सफलता मात्रै छैन्, सामाजिक सम्मान पनि छ । काममा इमान्दारीता, जिम्मेवारी प्रतिको बफादारीता र साझेदार निकायसँगको विश्वासले सबैका प्यारा बनेका छन्, अंगबहादुर ओली ।  

न्यू बढालेक निर्माण सेवा सुरु गरेको पाँच वर्ष मात्रै थियो । एक दर्जन बढी आफ्नै नामको ठेकाबाट पाएको काम सकाएका छन्, भने आधा दर्जन बढी अरुसँगको सहकार्य र उपभोक्ता समितिसँगको साझेदारीमा काम गरेका छन् ।  

बाजुरा जिल्लाको हकमा ओली अहिलेका सबैभन्दा इमान्दार र जिम्मेवार निर्माण व्यवसायी हुन्, भन्न कुनै हिचकिचाड छैन् र अरु कसैलाई अन्याय पनि हुदैन् । सम्मानीत हुने, समयमै काम सक्ने र गुणस्तरीय काम गरेकोमा थप अनुदान रकम पाउने व्यवसायी पनि ओली नै हुन् ।

ठेकेदारहरु पनि इमान्दार र जिम्मेवार हुन्छन्, भन्दा सहजै पत्याउन गाह्रो हुने भीडमा ओलीको इमान्दारीता र काम प्रतिको जिम्मेवारी देखेर बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ बहुत खुसी छन् । त्यही कारण यसै वर्ष बुढीगंगाले नगर सभाबाटै ओलीलाई पुरस्कार सहीत सम्मान गरेको छ ।

‘जिम्मा लिएको काम समय सीमा भन्दा अगाडि नै सम्पन्न गर्ने, भनेको समानको सत प्रतिशत प्रयोग गर्ने र इमान्दारीता पूर्वक काम गर्ने ठेकेदार ओली जी मात्रै देखिए, यत्तीको मान्छेलाई राज्यले पनि प्रोत्साहन र जिम्मेवारी दिनु पर्छ,' बाँनियाले भने।  

बुढीगंगा नगरपालिकामा दशक बितेर पनि नबनेका योजना छन् । ठेकेदार सम्पर्कमा छैनन्, बोलाउँदा पनि आलटाल गर्छन्, तर ओली जीले कुनै काममा पनि यो भएन्, सुधार गरौं, र समयमै बनाउँ भन्ने ठाउँ नै राख्नु भएको छैन्, सिंगो पालिका काम प्रति सन्तुष्ट छ, र सहकार्य जारी राख्छौं, बानियाँले थपे।

ओलीले पहिलो निर्माणको काम बाल विकास आधारभुत विद्यालय डोगडीबाट पाए। आफ्नै नामको निर्माण सेवाबाट भने पहिलो पटक अँधारी खौला देखि छेडेदहसम्मको बाटो निर्माणको काम गरेका थिए । त्यो कामको अवधी तीन महिला दिइएको थियो, तर उनले एक महिनामै सकाइ दिए ।  

बुढीगंगा नगरपालिका ३ को भवनको निर्माण अवधी सकिन ६ महिना अगाडि नै सम्पन्न गरे । वडा कार्यालयले सम्मान गर्यो । तत्कालिन प्रतिनिधी सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाबाट सम्मानीत हुने अवसर पाए । बुढीगंगा नगरपालिका स्वास्थ्य कार्यालय भवन पनि समयमै सकाए ।  

किनारा निर्माण सेवासँगको सहकार्यमा मष्टेश्वरी माविको नमुना विद्यालयको भवन निर्माण गरे । निर्माण कार्य अवधी १८ महिनाको थियो । ओलीले सम्झौताको ७ महिना अगाडि अर्थात ११ महिनामै काम सकाए र २८ लाख नगद थप राज्यबाट पुरस्कार पाए ।

भवानी माविको ८ कोठे भवन, बेतालमाडौं निर्माण सेवासँगको सहकार्यमा सरस्वती माविको भवन, दशरथ माविको ८ कोठे भवन र दशरथ बढालेक आधारभुत विद्यालयको राष्ट्रपति शैक्षिक सुधार अन्र्तगतको भवन पनि ओलीले निर्माण अवधी अगाडि नै सम्पन्न गरे ।  

हाल बुढीगंगा नगरपालिकाको सीप विकास केन्द्रको भवन निर्माण गरिरहेका छन् । पौष मसान्तसम्म निर्माण अवधी सम्झौता गरिएको छ । तर ओलीले असोज भित्रै पालिकालाई हस्तान्त्रण गर्ने गरे काम गरिरहेका छन् । खप्तड छेडेदह गाउँपालिका २ को भवन पनि समयमै सकाएर दिने ओलीको प्रतिवद्धता छ ।  

ओलीले जिम्मा लिएका कामको गुणस्तरमा प्रश्न गर्ने ठाउँ हुन्न । समयमै निर्माणको काम सकिदैन्, की, धोका हुन्छकी, भन्ने आशंका गर्नु पर्ने कुनै कारण नै हुन्न । भारी बोक्ने जिन्दगी देखि हालसम्म पाएका जिम्माको काममा कहिल्यै बेइमानी गरिएन, अब झनै गर्ने अवस्था नै हुन्न भन्छन्, अंगबहादुर ओली । सबैतिरको सम्मान र सहयोगबाट उनलाई थप जिम्मेवार बन्न प्ररेणा मिलेको छ ।  

ओलीसँग जेसीबी आफ्नै छ । १ ट्रक, २ ट्याक्टर, १ जीप, १ मिनिटाटा, सुर्का बजारमा ठुलो लगानीको व्यापार,यीनै सम्पत्तीका मालिक हुन्, ओली । ओलीले आफ्नै निर्माण कम्पनीमा २० जना बढी र व्यवसायमा १० जना बढीलाई प्रत्यक्ष काम दिएका छन् । काम गर्नेहरु समेत ओलीको व्यवाहार प्रति सन्तुष्ट छन् । इमान्दारीता र विश्वासकै कारण १२ वर्ष देखि एउटै व्यक्तिले ट्याक्टर र जीप चलाइ रहेका छन् । यो कुराले नै ओलीको इमान्दारीता र व्यवाहार प्रष्ट झल्किन्छ ।  

बाजुरामा मात्रै पाँच दर्जन बढीका नाममा निर्माण कम्पनी दर्ता भएका छन् । क देखि घ सम्मका ठेकादार समूह त्यसमा पर्दछन् । ती मध्ये अधिकांशले काम पाएका छैनन्, पाएकाहरुले पनि समयमै काम सकाएको देखिदैन् । अपवाद बाहेक ठुला निर्माण कम्पनीले पनि समयमै काम कुनै योजनाको पनि सकाएका छैनन् ।

ठेका नाममा पार्ने, पेश्की लिने काम नगर्ने र लगानी डुबाउने सेवा प्रभावमा अवरोध गर्ने ठेकेदारको हाबी भइरहेका बेला ओलीको कामले नयाँ तरंग दिइरहेको छ । बुढीगंगा र खप्तड छेडेदहका जनप्रतिनिधी भन्दा बढी स्थानीय ओलीको कामबाट प्रभावित बनेका छन् । यस्तै काम र इमान्दारीता देखाउन सके समयमै काम हुनेछ भने, जनताले सेवा पाउने छन् र राज्यको लगानीले सार्थकता पाउने देखिन्छ ।  

प्रकाशित: २७ श्रावण २०८० ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App