समाज

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।आज सुर्खेत महिला जेसीजको जेसीज सप्ताहको उद्घाटन गर्दै मन्त्री पोखरेलले समाजमा नकरात्मकता बढ्दै गएको बताउँदै त्यसलाई सही मार्गमा ल्याउन युवाहरू सक्रिय हुनुपर्ने बताए।

‘अहिलेको हाम्रो समाज सकारात्मक भन्दा पनि नकारात्मक कुराको पछाडि दौडिरहेको छ, त्यसमा युवाहरूको जमात सबैभन्दा ठूलो छ,’ उनले भने, ‘यस्ता कुराले गाउँ, समाज र देशलाईनै नकारात्मक असर पर्ने भएकाले सकारात्मक कुरातर्फ युवाहरूको ध्यान केन्द्रित हुनुपर्छ।’ 

मन्त्री पोखरेलले अहिलेका युवाहरुनै भोलिको देशको नेतृत्वकर्ता भएकाले अहिले देखिनै उनीहरूमा सकारात्मक सोच र चिन्तन हुनु आवश्यक रहेको बताए। ‘यो मेरो समाज हो, मेरो देश हो, देश बनाउने मैले हो भन्ने भावनाको विकास हुनु जरुरी छ,’ मन्त्री पोखरेलले भने,‘‘नकारात्मक सोच समाज र देशका लागि घातक छ भन्ने कुरा युवाहरूले बुझ्न आवश्यक छ।’

उनले युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै समाजलाई सही दिशातर्फ डो¥डाउनका लागि पनि भूमिका खेल्न आग्रह गरे । मन्त्री पोखरेलले सुर्खेत महिला जेसीजले महिलाको नेतृत्व क्षमतामा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । 

सुर्खेत महिला जेसीजका अध्यक्ष सीता भण्डारीले सात दिनसम्म विविध कार्यक्रम गरेर जेसीज सप्ताह मनाइने बताइन् । उद्घाटनसँगै पहिलो दिन वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो।‘‘बलियो राष्ट्रका लागि सबल महिला’ शीर्षकमा आयोजित प्रतियोगीतामा १० विद्यालयका २० छात्राहरूले भाग लिएका थिए।

वक्तृत्वकला प्रतियोगीतामा सैनिक आवासीय माविका प्रजिना खड्का प्रथम, सुर्खेत होराइजन एकेडेमीकी अस्मिता दोश्रो, अमर ज्योति माविकी तारा भट्टराई तृतीय भइन भने एसओएस विद्यालयका भावना भण्डारीले सान्त्वना पुरस्कार पाइन। 

कार्यक्रममा वीरेन्द्रनगर जेसीजका अध्यक्ष डिलु ढुंगना, एसओएस बालग्रामका निर्देशक गोपाल घिमिरे, एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हरिहर बस्नेत, सुर्खेत महिला जेसीजका पूर्व अध्यक्षहरु लगायतको सहभागीता रहेको थियो। 

प्रकाशित: २६ श्रावण २०८० १२:३८ शुक्रबार

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल सुर्खेत महिला जेसीजको जेसीज सप्ताह सुर्खेत महिला जेसीजका अध्यक्ष सीता भण्डारी