समाज

एनसेल भन्छ: ‘कुनैपनि परिस्थितीमा ग्राहकका डाटामा सम्झौता हुदैन’

फाइल तस्बिर

टेलिकम्युनिकेसन कम्पनी एनसेलले आफ्नो प्रणालीमा टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) नजोडेको भन्दै स्पष्ट पारेको छ।

साथै कम्पनीले कुनै पनि परिस्थितिमा आफ्ना ग्राहकहरुसँग सम्बन्धित डाटामा सम्झौता नगर्ने र कुनैपनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्ने प्रतिवद्धता पनि जनाएको छ।

एनसेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘नागरिक दैनिक’ को पहिलो पृष्ठ र सोही दैनिकको अनलाइन न्यूज पोर्टलमा बिहीबार (साउन २५ गते) प्रकाशित ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकको समाचार खण्डन गर्दै उक्त कुरा स्पष्ट पारेको हो।

‘हामी ग्राहकहरूका डाटा,गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं। हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन। न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं’, एनसेलद्घारा जारी विज्ञप्तिमा भनिएको छ।

एनसेलले टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेको जानकारी पनि दिएको छ।

‘टेरामक्स  सम्बन्धी प्राविधिक अध्ययनको निष्कर्ष र प्रचलित कानुनको आधारमा रही हाम्रो निर्णय हुनेछ। जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं’, एनसेलले भनेको छ।

प्रकाशित: २६ श्रावण २०८० ०९:०८ शुक्रबार

एनसेल