गाउँबाट बसाइँसराइको दरमा उल्लेख्य वृद्धी भएपछी अहिले खेतबारी पूरै बनमाराको झाडी र काँडाका बुट्यानले भरिएको छ। ढुङ्गाको छानो भएका परम्परागत शैलीका घर ‘भुतघर’ मा परिणत हुन थालेका छन्। गाउँमा बस्ने कृषकहरुलाई पनि खेतीबाली लगाउने चाह छैन। जनशक्तीको अभावमा बल्लतल्ल अन्नबाली लगाएका कृषक बाँदर र बँदेलको हैरानी खेप्न बाध्य छन्। जलवायु परिवर्तनका कारण वर्षा हुनुपर्ने बेला हुँदैन। नचाहिएको बेला हावाहुरी र असिनाले बालीनाली थिंचोमिचो पारिदिन्छ।
खेतियोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछी पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भुमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजि गरिरहेको छ। नगर भित्रका खेतियोग्य बाँझो जमिन आफैले उपयोग गर्ने गरी बाँझो जमिनको खोजिमा नगरपालिका जुटेको छ। नगरभित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो। खाली र बाँझो जमिनमा कागतीखेती, आलुखेती, कफीखेती, सुन्तलाखेती लगायतका आयआर्जन दिने बिरुवाका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको छ।
कार्यविधी बनाएरै नगर आयआर्जनको बाटोमा अँघी बढेको छ। कर्मशिल जनशक्ती रोजगार आयआर्जन कार्यक्रम मार्फत नगर भित्रका बाँझो जमिनलाई उपयोग गरेर कृषी उत्पादनमा लाग्ने नगर प्रमुख झविलाल थापाले जानकारी दिए। ‘हामीले नगरलाई आत्मनिर्भर बनाउने बाटोमा लैजाँदै छौं, उनले भने,‘कार्यविधी बनाएर प्रक्रिया अँघी बढाएका छौं, केही समयमा नतिजा देख्छौं।’
कतिपय स्थानीय तहले जमिन बाँझो राख्नेलाई जरिवाना तिराउने, कतिपयले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने निती लिएका छन्। भुमिकास्थानले भने आफै कृषी खेती गर्ने गरी काम अँगाडी बढाएको छ। पछिल्लो समय देशको अर्थतन्त्र खस्कीरहँदा नगरले कृषि व्यवसायमा आकर्षण बढाउन र गाँउघरमै रोजगारको अवसर सिर्जना गर्न ‘कर्मशिल जनशक्ती रोजगार आयआर्जन कार्यक्रम’ मार्फत बाँझो जमिन सदुपयोग गर्ने निति अवलम्बन गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलका अनुसार तत्कालै ठुला कलकारखाना खुल्ने अवस्था छैन। यस अवस्थामा कृषि उत्पादनलाई निरन्तरता दिनुपर्ने र रोजगार प्रभावित भएको अवस्थामा कृषिक्षेत्र नै रोजगारीको सहारा बन्ने देखिएको छ। ‘अर्थतन्त्र खस्किएपछी पालिकालाई आउने बजेट र विभिन्न कार्यक्रमहरु काटिएर आएका छन्। यस्तो अवस्थामा केन्द्रलाई मात्र भार थोपर्नु भन्दा पालिका आफैले केही प्रयास गर्नुपर्छ भन्नेमा हामी पुग्यौं। नगर भित्रका बाँझो जमिन सदुपयोग गरेर केही वर्षमै नतिजा ल्याउने हाम्रो प्रयत्न रहने छ’ उनले भने।
अहिले नगर बाँझो जमिनको पहिचान र जग्गा प्राप्तीको चरणमा छ। एक सुचना जारी गर्दै नगरपालिकाले निशुल्क तथा न्युनतम शुल्कमा जमिन उपलब्ध गराउन ईच्छुक व्यक्तीहरुको विवरण संकलन गरिरहेको छ। निशुल्क दिन चाहानेले कम्तीमा तिन वर्ष जग्गा उपलब्ध गराएको स्वघोंषणा गर्नुपर्ने छ। यस्तै शुल्क लिएर जग्गा दिन चाहानेले प्रती रोपनी वार्षिक १ हजार रुपंैया पाउने गरी सम्झौता गर्नुपर्ने छ।
जग्गा प्राप्ती पछी कती कर्मशिल जनशक्तीलाई रोजगारी दिन सकिन्छ भन्ने कुराको निर्धारण हुने नगरपालिकाका योजना अधिकृत हरिशचन्द्र भुसालले जानकारी दिए। कर्मशिल जनशक्तीलाई कृषी मात्र नभएर विकास निर्माणका कामहरुमा समेत जोड्ने योजना रहेको उनले बताए। विभिन्न उपभोक्ता समिति मार्फत हुने कार्यमा जोड्ने, विभिन्न उद्दमशिलताका कार्यक्रममा जोड्ने, महिलाहरुलाई समेत महिला श्रममा जोडेर यसलाई एकिकृत कार्यक्रमका रुपमा जोड्ने उनको भनाइ छ।
आर्थिक वर्ष २०८०/८१ का लागी यस कार्यक्रमका लागी नगरपालिकाले ५० लाख रुपैंया विनियोजन गरेको छ। अन्य कार्यक्रमहरु पनि यो कार्यक्रमसंग जोडिने भएकाले यसको बजेटको आकार बढ्ने नगरपालिकाले जनाएको छ। चालु आर्थिक वर्षमा पाँच करोडसम्मको काम गर्ने लक्ष्य नगरले लिएको छ।
नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ वर्ग किलोमिटर रहेको छ। जसमध्ये २०७७/०७८ सालको तथ्याङ्क अनुसार ४ हजार पाँचसय ६४ हेक्टर जमिन खेतियोग्य छ।
प्रकाशित: २६ श्रावण २०८० ०९:०४ शुक्रबार