समाज

सर्लाहीमा पुलमुनि भेटियो पुरुषको टाउको

सर्लाहीमा पुलमुनि एक पुरुषको टाउको भेटिएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही खण्डको हरिवन र नवलपुर बिचमा रहेको लखनदेही खोलाको पुलमुनि पुरुषको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

हरिवन नगरपालिका ४ स्थित लखनदेही पुलमुनि घाँटबाट छिनाएको एक अज्ञात युवकको टाउको फेला परेको र सनाखत हुन नसकेको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताए।

तराइ मूलको जस्तो २२/२५ वर्षको देखिने पुरुषको टाउको भेटिएको र जीउ नभेटिएको अवस्थामा घटनाबारे सर्लाहीका सबै प्रहरी युनिटलाई पत्राचार गरी खोजबिन सुरु गरिएको एसपी सुवेदीको भनाइ छ।

पुलमुनि टाउको भेटिएकोले बाढीले बगाएर ल्याएको हुन सक्ने सम्भावना पनि रहेको तथा कसैले अन्यत्र घटना घटाइ सबारी साधनबाट ल्याएर पुलमुनि फालेको हुन सक्ने सम्भावना रहेकोले सबै कोणबाट गहन अनुसन्धान सुरु गरिएको एसपी सुवेदीले बताए। 

प्रकाशित: २५ श्रावण २०८० ०६:४९ बिहीबार

लखनदेही खोला