समाज

सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे मङ्गलबार कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनबारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यासका सम्बन्धमा जानकारी गराएका थिए।

सामाजिक सञ्जालमा आउने नकारात्मक र द्वेषपूर्ण प्रचारलाई सञ्जालकै माध्यमबाट सुसूचीत गर्नुपर्ने बताउँदै डा सुब्बाले सामाजिक सञ्जाललाई नजर अन्दाज गर्नुभन्दा आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। सामाजिक सञ्जालको प्रयोग गरेर नै सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो।

काउन्सलिका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको रचनात्मक प्रयोग बढाउन आवश्यक रहेको बताए। उनले पत्रकारिता र सामाजिक सञ्जालको प्रयोगलाई जोडेर काउन्सलिलले सचेतनामूलक कार्य गर्न र स्वनियमनका लागि आवश्यक काम गरी रहेको जानकारी दिए। ‘हामी निष्क्रिय बसेका छैनौँ। यस कार्यक्रममा आएका सुझावबाट कसरी अगाडि बढ्न सकिन्छ सोहीअनुसार अगाडि बढ्नेछौँ’, उनले भने।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले सामाजिक सञ्जालको प्रभाव मुलधारका सञ्जाल माध्यमभन्दा प्रभावशाली देखिन थालेकाले सामाजिक सञ्जाललाई जिम्मेवार र परिपक्क बनाउनुपर्ने बताइन।

सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले दर्ता नभएका सञ्चार माध्यम र सामाजिक सञ्जाललाई कार्यविधि बनाएरै भए पनि तत्कालको समस्या सम्बोधनका लागि गृहकार्य गरीरहेको जानकारी दिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र सुवेदीले स्वनियमनलाई पहिलो प्राथमिकतामा राखी कानुनी व्यवस्थाका लागि मन्त्रालयले कार्यदल बनाइ काम गरेको उल्लेख गरे। प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले विगतदेखि हालसम्म गरेका कार्यक्रमका सुझावका आधारमा नै काम गरी रहेको बताउँँदै यस सम्वादले थप कार्ययोजना बनाउन मार्गदर्शन गरेको उल्लेख गरे।

यसअघि सोमबार ‘न्यू मिडिया’ र पत्रकार आचारसंहिताका चुनौती विषयक सम्पादक सम्वाद कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पादकहरूले छलफल गरेका थिए। सोमबार र मङ्गलबार सञ्चालित कार्यक्रममा ५० भन्दा बढी सम्पादकको सहभागिता रहेको थियो। सम्पादकहरुले न्यू मिडियाका चुनौतीहरुका बारेमा आफ्ना भनाइ राखेका थिए।  

प्रकाशित: २३ श्रावण २०८० १४:१२ मंगलबार

प्रेस काउन्सिल नेपाल सम्पादक सम्वाद कार्यक्रम मिडियामा सामाजिक सञ्जालको भूमिका बालकृष्ण बस्नेत न्यूनतम पारिश्रमिक निर्धारण समिति सङ्गीता खड्का सूचना तथा प्रसारण विभाग शङ्कर नेपाल