समाज

बाढीको बितण्ड: दुई जनाको मृत्यु, धानखेती डुबानमा

फाइल।

रौतहट र सर्लाहीमा लगातारको वर्षा पछि आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

रौतहटको गढीमाई नगरपालिका-२ समनपुरमा खेतबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा ६५ वर्षीय सहिद भाटको मृत्यु भएको हो।

यसैगरी सर्लाहीको हरिपुर्वा नगरपालिकाको वसन्तपुर गाउँका ६० वर्षीय भोला चौधरीलाई बाके खोलाले बगाएर लगेकोमा दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले बताए।

लगातार दुई दिनदेखि परेको पानीले रौतहट र सर्लाहीमा जनधनको ठुलो क्षति पुर्‍याएको छ। यहाँका हजारौँ बिगाहा धान खेती डुबानमा परेका छन्।

तस्तै रौतहटमा बाढीमा फसेका एक जनाको सकुशल उद्धार गरिएको छ। मौलापुर नगरपालिका-१ स्थित बकैया नदीमा घाँस काट्न गएको बेला बाढीमा फसेका स्थानीय १७ वर्षीय कर्ण यादवलाई सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

निरन्तरको वर्षाले रौतहट र सर्लाहीको बिच भएर बग्ने बागमती नदीमा पानीको बहाव बढाइदिएको छ। जस कारण बागमती नदीको तटबन्ध कटान भइरहेका छ। सर्लाहीको बरहथवा नगरपालिका-१ मलहाटोलमा समेत बाढी प्रवेश गरेको छ। त्यहाँ तटबन्ध मर्मतको काम भइरहेको सर्लाहीका एसपी सुवेदीले जानकारी दिए।

यसै गरी रौतहटको दुर्गा भगवती गाउँपालिकाको डोरी खोलमासँगै जोडिएको बाँधमा लगाइएको सुलिसगेट नजिकै बागमती नदीले कटान गरिरहेको छ। कटान गरिरहेको ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सिँचाइ डिभिजन कार्यालयबाट बोराको साहायतामा माटो भरी नियन्त्रणको काम गरिरहेको प्रजिअ मिश्रले बताए। बाढीका कारण दुर्गा भगवती गाउँपालिकाको ४० घर डुबानमा परेको छ।

लगातारको वर्षाले रौतहट र सर्लाहीका विभिन्न खोलामा आएको बाढीले दुवै जिल्लाको हजारौँ बिगाहा धान खेती डुबानमा परेको छ। बाढीको पानी अत्यधिक भएको कारण डुबानमा परेको धान खेतीलाई धेरै नोक्सानी पुर्‍याएको देखिन्छ।

प्रकाशित: २३ श्रावण २०८० १३:०१ मंगलबार