समाज

कास्कीमा सवारी दुर्घटना बढ्यो, मानवीय क्षति भने थोरै

जिल्ला ट्राफिक कार्यालय कास्कीको भवन। तस्बिरः सन्देश/नागरिक

कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ। तर, दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ। 

कास्कीमा आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा १९ वटा दुर्घटना बढेको हो। आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा ११७ वटा ठूला दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीमा सामान्य दुर्घटना भने २ हजार १ सय ५० वटा भएपनि ११७ वटा दुर्घटनामा मात्रै क्षति पुग्ने गरी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको भनाई छ। जसमा ९४ वटा मोटरसाइकल, जिप तथा कार २७, बस १३, ट्र्याक्टर ६, टिप्परबाट ४, रिक्सा तथा ठेला गाडाबाट ४, डोजर, लोडर तथा एक्स्काभेटर ३, माईक्रोबस तथा ट्रक र टयांकरबाट २/२ र अन्यबाट १ सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको।

दुर्घटना बढे पनि यस अवधिमा मृतक संख्या कम छन्। आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा दुर्घटनामा ५५ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०७९/८० मा दुर्घटना बढेर ११७ वटा पुग्दा मृतक संख्या भने घटेर ४४ मा झरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए। मृत्यु हुनेमा ३३ जना पुरुष, ८ जना महिला, २ बालक र १ बालिका रहेको उनले बताए।

यही अवधिमा दुर्घटनामा घाइते भएको संख्या भने बढेको छ। प्रमुख चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७९ जना घाइते भएकोमा आर्थिक वर्ष २०७९/८० मा १२३ जना घाइते भएका छन्। यो अवधिमा सवारी साधनमा सवार नरहेका सर्वसाधारण घाइते भएको संख्या दोब्बर भन्दा बढी वृद्धि भएको छ। आर्थिक वर्ष २०७८/७९ मा १३ जना पैदल यात्रु घाइते भएकोमा आर्थिक वर्ष २०७९/८० मा बढेर ३२ जना घाइते भएको चन्दले बताए। उनका अनुसार यस अवधिमा भएको दुर्घटनामा १५६ वटा सवारी संलग्न भएका थिए। यो आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ वटा सवारी बढी हो। 

त्यस्तै, कास्कीमा ४०२ वटा ‘हिट एण्ड रन’ अर्थात् दुर्घटना भएपछि सवारी चालक सवारीसहित फरार भएका छन्। त्यसरी हिट एण्ड रनमा संलग्नमध्ये २०९ वटालाई भने खोजविन गरेर सम्पर्कमा ल्याई कारबाही गरिएको ट्राफिक वरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए। हिट एण्ड रनका अन्य दुर्घटनाको बारेमा भने निवेदन नआएकाले खोजी नगरिएको उनले बताए। 

कास्कीमा आर्थिक वर्ष २०७९/८० मा ७६ हजार ४ सय ६० वटा सवारीलाई कारबाही गरेर ६ करोड ५० लाख २४ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा २ करोड ६४ लाख ३२ हजार अर्थात् ५९.३५ प्रतिशतले बढी हो।

दुर्घटना घटाउन आफूहरुले चेकिङलाई नियमित गरेको, सचेतना कार्यक्रम निरन्तर गरेको, सिसी क्यामरा जडान गर्नेलगायतका कार्यहरु नियमित बनाएको पाठकले जानकारी दिए। ‘हामी दुर्घटना न्यूनीकरणका लागि अहोरात्र खटिरहेका छौं, चालक र यात्रुहरु पनि सचेत हुन जरुरी छ,’ उनले भने।

उनले दुर्घटना न्यूनीकरणका लागि थप कडाई गर्दै ट्राफिक भायोलेन्स रेकर्ड सफ्टवेयर बनाएर सञ्चालनमा ल्याएको र यसले गल्ती गर्नेलाई पटके मानेर जरिवाना बढाउँदै लैजाने गरेको बताए।

प्रकाशित: २१ श्रावण २०८० ०९:४९ आइतबार

कास्कीमा सवारी दुर्घटना जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की