समाज

तीन दिनअघि बाढीको भविष्यवाणी

काठमाडौं- देशका मुख्य नदीहरूमा पानीको सतह र त्यसले प्रभाव पार्ने क्षेत्रबारे सर्वसाधारणलाई चौबीस घन्टे पूर्वसूचना दिँदै आएको जल तथा मौसम विज्ञान विभागले कर्णाली, बबई र नारायणी नदीमा तीन दिनपछि आउने बाढीको भविष्यवाणी गर्न थालेको छ। 

नेपाल जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले विश्वमै चौंथो स्थानमा र बाढी विपत्का दृष्टिले तीसौं स्थानमा।

वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले बिहीबार लुथरन वर्ड रिलिफको आर्थिक सहयोगमा आयोजित 'बाढी पूर्वचेतावनी सूचनासम्बन्धी सरोकारवालाहरूको कार्यशाला' मा विभागले तयार गरेको तीनदिने भविष्यवाणी कम्प्युटर मोडलको उद्घाटन गरे।

विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख राजेन्द्र शर्माका अनुसार थाइल्यान्डको एक संस्थास“गको समन्वयमा यो कार्यक्रम सुरु गरिएको हो। 'आज यसको औपचारिक उद्घाटन भए पनि  अहिले आन्तरिक परीक्षणका रुपमा प्रयोग भइरहेको छ', उनले बाढी पूवार्नुमान र पूर्वसुचनासम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भने।

शर्माले यस मनसुनमा आफूहरूले विकास गरेको मोडलबाट प्राप्त तथ्यांक विवरणहरूको प्रभावकारिताको परीक्षण गर्ने र अर्को मनसुनदेखि नियमित रुपमा सबै नागरिकलाई बाढीको पूर्वजानकारी दिइने बताए। 'कोसी र पश्चिम राप्तीमा पनि यस्तै मोडेल विकास गर्ने कार्य अन्तिम चरणमा पुगेको छ', उनले भने।

शर्माले बाढी पूर्वानुमान र पूर्वचेतावनी सूचनाबाट ठूलो जनधन क्षति हुनबाट जोगिएको उदाहरणसमेत प्रस्तुत गरे। हालसम्म मुख्यतः वर्षा र बाढी अवलोकन गरी पूर्वसूचना प्रवाह गर्न नेपालका महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी, बागमती, कोसी र कन्काई नदी जलाधारहरूमा स्वचालित जल तथा मौसमी उपकरण जडान भइसकेका छन्।

'यद्यपि ती अपुग छन्। त्यसैले विभागले एउटा ठूलो परियोजनामार्फत स्वचालित उपकरण जडान गर्न बाँकी केन्›हरूमा आगामी आर्थिक वर्षभित्रै काम पूरा हुनेगरी कार्य गरिरहेको छ', विभागका उपमहानिर्देशक सर्जुकुमार वैद्यले भने। उनका अनुसार नदी र जलाधार क्षेत्रमा ७० र मौसमी केन्द्र ८० वटा थप्ने तयारी भइरहेको छ। 'यीबाहेक विभागले सुदृढ मौसमी पूर्वानुमान र सोमार्फत  बाढी प्रकोपहरूको पूर्वानुमानकै लागि मौसमी राडार र रेडियोसोन्ड स्थापनाको कार्य पनि आगामी वर्ष सक्नेगरी काम भइरहेको छ', वैद्यले भने।

विभागले स्वचालित जल तथा मौसमी उपकरणबाट प्राप्त तथ्यांक र विवरण नदीका तल्लो तटीय क्षेत्रका सर्वसाधाराणसम्म पुर्‍याउने काम गरिरहेको छ। कम्प्युटर मोडेलमार्फत एक दिन वा सोभन्दा पछि आउने बढीको समेत भविष्यवाणी उपलब्ध गराउन थालिएको छ।

 पूर्वसूचना र बाढी विपत् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत लुथरन वर्ड रिलिफका कार्यक्रम निर्देशक नारायण ज्ञवालीले समुदायमा आधारित पूर्वचेतावनी सूचना प्रभावकारी भएको अनुभव सुनाए। 'हामीले पनि कोसी र गण्डकी नदीको जलाधार क्षेत्रमा काम गरिरहेका छौं। यो प्रणाली सफल भएको छ', उनले भने।

ज्ञवालीका अनुसार सबैभन्दा महŒवपूर्ण विषय 'सञ्चार' हो। 'बाढी पूर्वानुमानमा प्रयोग भएका प्रविधि र मोडलहरूबाट प्राप्त तथ्यांक र विवरणको सही विश्लेषण र निष्कर्षलाई आमनागरिकस“ग पुर्‍याउने विषय सबैभन्दा महŒवपूर्ण हो', उनले भने, 'यस्ता सूचना तुरुन्त स्थानीय समुदायमा पुर्‍याउन सक्यौं भने ठूलो धनजन क्षति हुनबाट जोगाउन सकिन्छ। हामीले पनि यही काम गरिरहेका छौं।'

ज्ञवालीले नदीको तटिय क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारणको अपेक्षा धेरै भएको बताए। त्यसैले पनि उनीहरूको जीविकोपार्जनका लागि चाहिने कार्यक्रम ल्याउनेतर्फ पनि ध्यान दिनुपर्ने उनले सुनाए। उनको संस्थाले सन् २०१४ देखि सन् २०१६ सम्म दुई चरणमा 'नेपाल–इन्डिया क्रस बोर्डर अर्ली वार्निङ' कार्यक्रम सञ्चालन गरेको थियो। उनले भने, 'आगामी दिनमा यस क्षेत्रमा कार्य गर्ने हामी सबै थप एकीकृत भएर अगाडि बढ्न जरुरी छ। प्रभावकारी समन्वय भए भोलिका दिनमा हामी झनै प्रभावकारी ढंगले धनजनको क्षति न्यूनीकरण गर्न सफल हुनेछौं।

नेपाल जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले विश्वमै चौंथो स्थानमा र बाढी विपत्का दृष्टिले तीसौं स्थानमा पर्छ। 'अझै गम्भीर विषय त के छ भने जलवायु परिवर्तनको मुख्य प्रभाव वर्षाको तौरतरिकामा परेको छ', उपमहानिर्देशक वैद्यले भने।

प्रकाशित: २३ असार २०७४ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App