समाज

व्यापारका लागि केदारनाथ पुगेका दर्जन नेपाली पहिरोमा परी बेपत्ता

भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन्। पहिरोले उनीहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन्। 

बेपत्ता हुनेहरूमा जुम्लाको पातारासी गाउँपालिकाका धेरै छन्। गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो। केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएकाे पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए। विस्तृत जानकारीको लागि सम्पर्क भइरहेको उनको भनाइ छ। बेपत्ता हुनेहरुको नाम ठेगाना भने यकिन भइसकेको छैन।

सबै विवरण प्राप्त भए पछि बेपत्ता हुनेहरुको नाम सार्वजनिक गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ। उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए। अहिलेसम्म पातरासी-२ र ३ का गरी ११ जनाको पहिचान भएको बोहोराले बताए।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पातारासीका अध्यक्षबाटै आफूलाई जानकारी प्राप्त भएकोले घटनाबारे गृह मन्त्रालयमा समेत जानकारी पठाइसकेको बताए।

दिल्ली दूतावासका भारतीय प्रहरीबाट प्राप्त जानकारीअनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा बिहीबार राति ११स्३० बजे पहिरोमा परी हराएको सूचना प्राप्त भएको छ। हालसम्म ३ जनाको शव भेटिएको तर पहिचान हुन नसकेको जुम्लाकी सांसद कान्तिका सेजुवालले बताएकी छन्।

प्रकाशित: १९ श्रावण २०८० १३:५३ शुक्रबार

गौरीकुण्डमा गएको पहिरो