समाज

बाढीबाट विस्थापितको बिजोग

भेडिया (सप्तरी)- सप्तरीको कञ्चनरूप नगरपालिका–८ रघुनाथपुरका चार परिवार हाल छिमेकीकहाँ आश्रय लिएर बसेका छन्। शनिबारको बाढीले नदीछेउमै रहेको घर बगाइदिएपछि उनीहरू आश्रयका लागि छिमेकीकहाँ पुगेका हुन्।

 स्थानीय सुन्दरी खोलाको बाढीले चार परिवारका आठ घर बगायो। नवल यादव, श्याम यादव, राजकुमार यादव र देवु यादवको घर भएको स्थानमा अहिले खोला बगिरहेको छ। कहाँ घर बनाउने र के खाने भनेर बाढीपीडित चिन्तित छन्।

 'घर भएको जग्गामा खोला बगेको छ', श्यामले भने, 'घर बनाउन अर्को जग्गा पनि छैन, हामी त बेघर भयौं', श्यामले भने। वृद्ध आमाबाबु, श्रीमती र बालबच्चासहित कहाँ जाने भन्ने चिन्ताले आफूहरू पिरोलिएको उनको गुनासो छ।

'छिमेकीका घरमा आश्रय लिएर कति दिन बस्नु?' देबुले भने, 'हामीसँग कुनै विकल्प नै बचेन, कम्तीमा जग्गा बचेको भए जसोतसो घर बनाउँथें, बाढीले उठिवास गरायो।' आफूजस्ताका लागि राज्यले गम्भीरतापूर्वक विचार गरिदिनुपर्ने उनको भनाइ छ।

शनिबार आएको बाढीले सप्तरीकै तिरहुत गाउँपालिका–२ भेडियाका पनि तीन परिवार विस्थापित हुन बाध्य भएका छन्। चार ठाउँमा बाँध कटान गरेर स्थानीय महुली नदीको बाढी गाउँ पस्दा यी परिवार विस्थापित भएका हुन्। बाढीले त्यस क्षेत्रका ४० परिवारलाई असर पुर्‍यायो भने विरक्ष मुखिया, जीवछ मुखिया र लक्ष्मण रामको घर नै लग्यो।

'आँगन नै पोखरीजस्तो भएको छ, घर पनि क्षतिग्रस्त, यस्तो अवस्थामा सुरक्षित स्थानमा लाग्नुको विकल्प रहेन,' लक्ष्मणले भने, 'दुई नाबालक छोरा र पत्नीका साथ शनिबारदेखि नै चन्द्र नहरको डिलमा बस्नुपरेको छ।'

यता सदरमुकाम राजविराजछेउमै रहेको मलेठमा समेत बाढीले ६ परिवारको घरमा क्षति पुर्‍याएको छ। अधिकांश दलित र विपन्नकै घरमा बाढीले क्षति पुर्‍याएका कारण उनीहरूका लागि ठूलो सन्ताप हुन पुगेको हो। 'योभन्दा ठूलो बिजोग के होला', बाढीपीडित एकल महिला करपुरनीदेवी खंगले भनिन्, 'न श्रीमान् नै छन्, न छोरा नै। त्यसमाथि विधाताले दिएको यो विपत्ति, कहाँ जाउँ्क, कोसँग सहयोग मागौं?'

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार शनिबारको बाढीले सप्तरीका १६ परिवार विस्थापित भएका छन्।

८० घर फेरि डुबानमा, अझै त्रास कायमै

 मंगलबार दिउँसोदेखि पुनः प्रारम्भ भएको वर्षाले एकातिर बाढीपीडित तथा विस्थापितको बिजोग भएको छ भने अर्कातिर सप्तरीको भेडिया तथा सकरपुरका ८० घर फेरि डुबानमा परेका छन्। जिल्ला समन्वय समितिअन्तर्गत विपद् कार्यक्रम हेर्ने कार्यक्रम संयोजक राजेश झाका अनुसार बाढी तथा वर्षाको पानीले सकरपुरा तथा भेडियाका ८० घर डुबानमा परेका हुन्।

मंगलबार दिउँसो सुरु भएको वर्षा तथा बाढीको पानी सकरपुरा, तिलाठी र भेडियाको तल्लो बस्तीमा पस्न थालेपछि स्थानीय निकै त्रासमा रहेको झाले बताए। 'सकरपुरा र भेडियाका झन्डै ८० घर डुबानमा परिसकेका छन्', झाले भने, 'तिलाठीलगायत अन्य स्थानको तथ्यांक जुटाउन हामीले जनशक्ति परिचालन गरिसकेका छौं।'

बाढीले सडक, कल्भर्टलगायतका भौतिक पूर्वाधारमा समेतमा नराम्ररी क्षति पुर्‍याएको जिल्ला समन्वय समितिका झाले जानकारी गराए।

भत्किएका बाँध बनाउन सेना खटियो

बुधबार बिहान बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकपश्चात सप्तरीको मैनाकडेरी, तोपा तथा लौनियाँस्थित कटान भएको खाँडो तथा महुली नदीको बाँध बनाउन नेपाली सेना खटाइएको समितिको संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी गराए।

'बाँध मर्मतका लागि जाली, बोरालगायतका सामग्री जलउत्पन्न प्रकोप नियन्त्रण विभागले उपलब्ध गराएको छ', प्रजिअले भने, 'सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ।' यसका अतिरिक्त राहत वितरण कार्य एकद्वार प्रणालीबाट व्यवस्थापन गरिने, तथ्यांक संकलन कार्र्य द्रुत गतिमा अगाडि बढाउने, बाढीका कारण उत्पन्न खानेपानी तथा सरसफाइ समस्या समाधानका लागि फिल्टर, ह्यान्डपम्पलगायतका सामग्री युनिसेफबाट माग गर्ने र विस्थापितलाई राहतका लागि विभिन्न दातासँग पहल गर्ने प्रजिअ कटुवालले जानकारी गराए।

प्रकाशित: २२ असार २०७४ ०२:२५ बिहीबार