समाज

सामाखुसी खोलाबाट बेपत्ता बालक दक्षिणकालीमा मृत भेटिए

काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका वडा नम्बर-७ स्थितकाे खोला नजिकै मृत अवस्थामा भेटिएका छन्। 

बिहीबार बेलुका साढे ३ बजेको समयमा उनी दक्षिणकाली खोला नजिकै मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोद ढुङेलले नागरिक न्युजलाई जानकारी दिए। उनका अनुसार स्थानीयले बालको शव देखेर प्रहरीमा खबर गरेका थिए। बालको शव पहिचान भइसकेको उनले जनाए।

काठमाडौँको पानीपोखरीमा रहेकाे भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक साउन ७ गते आइतबार साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो।

प्रकाशित: १८ श्रावण २०८० १२:५७ बिहीबार