समाज

लागू औषधसहित दुई पक्राउ, एक फरार

जुम्लामा लागू औषधसहित दुई जना पक्राउ परेका छन् भने एक फरार भएका छन्।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचा बस्ने अन्दाजी २८ वर्षका भिमराज रावल र अन्दाजी ३१ वर्षका हिक्मत रावल रहेका छन्। उनीहरुलाई चन्दननाथ नगरपालिका-४ भारतीवाडाबाट पक्राउ गरिएको हो।

भिमराजको बयानका आधारमा हिक्मतलाई नियन्त्रणमा लिइएको हो। फरार हुनेमा सोही ठाउँका अमिर केसी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामबहादुर बुढामगरले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भिमराज र हिक्मतको साथबाट र अमिरको घरबाट लागू औषध फेला पारेको हो।

प्रहरीले भिमराज रावलले खल्तीमा लुकाई छिपाई राखेको लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिँया, र घरको कोठामा ५ सय मिलिग्राम खैरो धुलो पदार्थ र ५ ग्राम ४० मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको हो।

अमिर केसीको घरमा खानतलासी गर्दा घरको सुत्ने कोठाबाट ३ सय ५० मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०८० १२:२४ बिहीबार