समाज

कर्णाली प्रदेशमा प्रकोपबाट ७२ जनाले ज्यान गुमाए :अझै २५ जना बेपत्ता

कर्णाली प्रदेशमा आर्थिक वर्ष ०७९/०८० मा २ हजार २ सय १४ वटा विपद्का घटना भएका छन्। त्यसमध्ये  ६ हजार २ सय २८ वटा घरहरूमा क्षति भएको छ। 

७ वटा उद्योग, ७५ विद्यालय र १ सय ९५ स्थानमा सडक भत्किएको छ।कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीका अनुसार विपद्का घटनामा परी ७२ जनाको मृत्यु भएको छ।भने २५ जना बेपत्ता र १ सय २४ घाइते भएका छन्।सो आर्थिक वर्षमा ६४ करोड ८६ लाख ९६ हजार बराबरको आर्थिक क्षति भएको पनि जिसीले बताए। उनले सबै विपद् पीडितलाई राहत उपलब्ध गराउन नसकिएको उनले जानकारी दिए। 

कर्णालीमा ०७१/०७२ सालदेखि अहिलेसम्म प्रकोपबाट भएका घटनामा परेका पीडितहरूलाई राज्यले ३ अर्बभन्दा बढीको क्षतिपूर्ति दिनुपर्ने छ।  कर्णालीमा बर्सेनि प्रकोपबाट  नागरिकहरूले ज्यान गुमाउनुका साथै ठूलो  आर्थिक क्षति समेत हुने गरेको छ। तर  पीडित नागरिकलाई राहत तथा पुर्नःस्थापनाको लागि राज्यको ध्यान पुगेको  छैन।मन्त्री जिसीले नागरिकलाई दिनुपर्ने राहत अहिलेसम्म राज्यबाट दिन नसकिएको बताए। प्रदेशसभाको २८ औँ बैठकमा यो तथ्याङ्क उनले सार्वजनिक गरेका हुन्।

अघिल्लो वर्ष विपद् पीडित परिवारलाई प्रति मृतक २ लाखका दरले ५२ जनालाई मात्र राहत रकम दिइएको छ। अन्य पीडितहरूलाई राहत रकम दिने प्रक्रियामै रहेको उनले बताए। यस्तै कानुन मन्त्रालयले १ करोड ८० लाख रकम तत्काल राहत शीर्षकमा जिल्ला प्रशासन कार्यालयहरूलाई पठाएको थियो।जिसीका अनुसार ०७८/०७९ मा विपदमा परी पीडित भएकाहरूबाट पेस हुन आएका ४ सय १६ वटा क्षतिको राहत उपलब्ध गराउन सकिएको छैन। त्यसका लागि कानुन मन्त्रालयले ८० करोडको मागसहित अर्थ मन्त्रालयमा पत्र पठाइएको भए पनि अहिलेसम्म नआएको उनले जानकारी गराए।

प्रकाशित: १६ श्रावण २०८० १३:२५ मंगलबार

कर्णाली प्रदेश कृष्णबहादुर जिसी