समाज

बाजुराको सय बस्ती पहिरोको उच्च जोखिममा, स्थानीय रातभर जाग्राम

पहिरोले पुरिएको गौमुलको धल्काँडा बस्ती

वर्षायाम सुरु भएसँगै बाढी पहिरोको उच्च जोखिम बढ्ने गर्छ। कमजोर सतह भएको भिरालो र पाखो जमिन भएको क्षेत्रमा झनै जोखिम बढी हुने गरेको छ। कमजोर सतह र बढी बाढी पहिरोको जोखिम हुने जिल्लामा बाजुरामा पनि अग्र भागमा छ। बाजुराका मात्रै ११६ बस्ती पहिरोको उच्च जोखिममा छन्।

जिल्ला प्रशासन कार्यालय बाजुरासँग भएको तथ्याङ्क अनुसार बाजुराका नौ वटा पालिकाका १ सय १६ बस्ती पहिरोको उच्च जोखिममा छन्। ती बस्ती सार्नु बाहेक अर्को विकल्प नहुने भूगर्भ विद्हरूको सुझाव छ। साबिक २७ गाविस मध्ये १६ गाविसलाई मानव बस्ती बस्न लायक नै नभएको सिफारिस गरिएको थियो।

बस्नका लागि अर्को जमिन र कमाउन अर्को खेतबारी नभएपछि पहिरोकै जोखिम मोलेर जीवन काट्नु पर्ने बाध्यता स्थानीयहरूको छ। केही समय पहिले लिएको रिपोट अनुसार यस्तो तथ्याङ्क सार्वजनिक भएको हो।

प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का अनुसार उच्च जोखिममा रहेका बस्तीका स्थानीयलाई अन्यत्र सार्न सुझाइएको छ। प्रतिकार्य योजनामा पनि अन्य ठाउँ स्थानान्तरण गरिनु पर्ने भनिएको छ। तर बस्ती सार्ने बारे कुनै सुरसार नै छैन। कमजोर जमिनको सतह र भिरालो अनि पाखो जमिनमा बनेका घर संरचना थप जोखिमपूर्ण छन्।

वर्ष दिनको अवधिमा मात्र बाजुरामा ११ पटक भूकम्प गएको छ। भूकम्पको धक्काले झन् जमिन र घर संरचना कमजोर हुँदै गएका छन्। भूकम्पको कम्पनले सयै घरलाई चिराचिरा पारिदिएको छ भने जमिनको भाग समेत कमजोर बनाएको छ। बर्षाद्को बेला पहिरो जाने सम्भावना रहेको जमिनमा थप सजिलो पार्ने काम भूकम्पले गरिदिएको छ।

उच्च जोखिममा रहेका मध्ये त्रिवेणी नगरपालिकाका १३ गाउँका ९ सय ७१ परिवार छन्। पालिकाको १ विशाल बजार जहाँ १ सय ७० घरधुरीको बसोबास छ। २ को सिम्ला, सिन्नेकोट जहाँ २ सय ७२ घरधुरी बसोबास गर्ने गरेका छन्।

त्रिवेणी ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी, ५ को किम्नीका २ सय १७ घरधुरी र ८ र ९ नम्बर वडाका बस्ती पनि जोखिममा छन्। बुढीगंगा नगरपालिकामा २५ गाउँका ६ सय २५ परिवार उच्च जोखिममा छन्।

खप्तड छेडेदह गाउँपालिकाका १४ गाउँका ३ सय ३२ परिवार जोखिममा रहेका छन्। पालिकाको मेलतोला, आरुगडा, नराउली खोला गाँज्, बल्दे, धनाल्त, टुनीसैन, गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाउँ बस्ती जोखिममा छन्।

बुढीगंगा नगरपालिकाका पिपलडाली, साउने गाउँ, दैया, मटेला, पारतोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोट सहित १० गाँउ उच्च जोखिममा छन्। जगन्नाथ गाउँपालिकाका मुसेखोला, तल्लो हुनी र वस्केना गरी ३ गाउँ उच्च जोखिममा छन्।

स्वामीकार्तिक खापर गाउँपालिकाका वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु सहित ९ वटा सिंगो गाँउ जोखिममा रहेको स्वामीकार्तिक खापर गाउँपालिका सूचना अधिकारी कुबेर शाहीले बताए। हिमाली गाउँपालिकाका ५ वटा गाँउ जोखिममा छन्।

बडीमालिका नगरपालिकाका तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी गाउँ जोखिममा छन्। त्यस्तै मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना र पाटा गाउँ पनि उच्च जोखिममा छन्। गौमुल गाउँपालिका २१ गाउँका ३ सय ३२ परिवार उच्च जोखिम रहेको पालिकाले बताएको छ।

पहिरोको जोखिममा गाउँ बस्तीसँगै विद्यालय संरचना, स्वास्थ्य संस्था, सडक बाटो, पुल पुलेसा, खानेपानीको मुहान र सिँचाइ कुला पनि पहिरोकै कारण जोखिममा छन्। ती संरचनामा बर्सेनि लगानी लगेर नयाँ निर्माण गर्नु पर्ने बाध्यता स्थानीय पालिकालाई छ। बर्सादमा  बिग्रिने हिउँदमा बनाउनु पर्ने बाध्यता देखिन्छ।

साँफे मार्तडी, र मार्तडी कोल्टीसहितका अन्य ग्रामीण सडक पनि हिउँदमा बनाउने र बर्सादमा बिग्रिने गरेका छन्। जोखिममा रहेका बस्तीहरुलाई बस्ती विकास गरेर अर्को ठाउँ सार्नु बाहेक विकल्प नहुने भूगर्भ विद्हरूको दाबी छ।

उनीहरूले कुनै न कुनै दिन हालको बस्तीको नमुना समेत नरहने ठाउँमा बस्ती बसाउनु र बस्नु भन्दा एकीकृत बस्ती विकासको अवधारण गरिनु पर्ने सुझाव दिने गरेका छन्।

राज्यले तत्कालीन मन्त्री कर्णबहादुर थापाकै विशेष जोडबलमा बस्ती विकासका लागि ७४ करोड बजेट विनियोजन गरेको थियो। बाजुरालाई बस्ती विकासको परीक्षणका लागि पनि नमुना जिल्लाका रुपमा छनोट गरिएको थियो। तर त्यो पछि कुनै योजना र काम केही सुरसार नै गरिएको छैन।

हालको मितिमा पनि यहाँका सयै परिवारले वन क्षेत्रमा खरक (छानो भएको तर बार नभएको पाखो) बनाएर बस्ने गरेका छन्। घर बस्ती छोडेर खरक बनाउने, पाल हाल्ने र त्यही रात काट्ने गरेका छन्। घरमै जोखिम मोलेर बसिरहेका परिवारहरुले पनि कुनै रात नसुतेरै जागराम बस्नु पर्ने बाध्यता छ। पानी पर्नासाथ पहिरो आउने डर हुन्छ, त्यो भन्दा दिनमा काम गर्ने, राती नसुती बस्ने तालिका यहाँका पहिरो पीडितसँग छ।

पूर्व तयारी, आपतकालिन व्यवस्थापनको सामाग्री व्यवस्थापन बाहेक अर्को काम गर्न नसकिने प्रमुख जिल्ला अधिकारीको भनाई छ। संघ सरकारबाटै यसको उपयुक्त निकाय निकाल्नु पर्नेमा माग पहिरो पीडितको छ। जिल्ला प्रशासन कार्यालयले यति बेला नागरिकलाई बाढी पहिरोबाट जोखिम सतर्कता अपनाउन सूचना जारी गरेको छ।

तयारीमा बस्न र सतर्कता अपनाउन सबै पालिकालाई निर्देशन जारी गरिसकिएको र प्रशासनको तर्फबाट हुने र गर्नुपर्ने तयारी गरेर बसेको प्रजिअ खड्काले बताएका छन्।

सुरक्षित बास नभए पनि घर वा गाउँ नजिकैको सुरक्षित स्थानको खोजी गरिराख्न र विद्यालयलाई समेत आपतकालिन उद्धार संरचनाका रुपमा प्रयोग गर्ने खालको तयारी पालिकाका तर्फबाट भइरहेको दाबी जनप्रतिनिधिको छ।

सिंगो जिल्लाको अधिकांश भूगोल बस्न लायक छैन। राज्यले एकीकृत बस्ती विकास र बस्ती स्थानान्तरण बेवास्ता गर्दा जोखिम थप बढेको छ। साउन यता मात्रै बाजुराका २२ बढी परिवार घर पहिरोले भत्काएपछि विद्यालय वा आफन्तको सहारामा छन्।

प्रकाशित: १६ श्रावण २०८० ०९:१९ मंगलबार

बाजुरा पहिरोको उच्च जोखिम