समाज

दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव: बादलमाथि उड्ने सपना पूरा भयो

प्याराग्लाइडिङ साहसिक खेलका रुपमा चिनिन्छ। साहसिक खेलकुदमा रमाउनेले मात्रै यो गर्छन्। अधिकांश भने प्याराग्लाइडिङ गर्न डराउँछन्। अर्थात् प्याराग्लाइडिङ गर्न जो कोहिले आँट नै गर्दैनन्।  तर आँट, हिम्मत र साहस भयो भने सजिलै गर्न सकिन्छ भन्ने उदाहरण दृष्टिविहीनले प्रस्तुत गरेका छन्।

सोमबार पोखराको आकाशमा दुई विदेशीसहित १२ जना हावामा कावा खाँदै प्याराग्लाइडिङ अनुभव बटुले। ती मध्ये १० जना दृष्टिविहीन थिए। यसको चाँजोपाँजो मिलाएको थियो ‘ब्लाईन्ड रक्स’ नामक संस्थाले। दृष्टिविहीन होस् वा अपाङ्गता भएका जो कोही पनि सक्षम हुन्छन् भन्ने सन्देश दिनका लागि आफूहरूले सामूहिक प्याराग्लाइडिङ गराएको ब्लाईन्ड रक्सकी संस्थापक सृष्टि केसीले बत्ताइन्। ‘जीवनको उचाईमा पुग्न वा जीवनको सफलता चुम्नका लागि अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्याराग्लाइडिङ गरेर दिनु थियो,’ उनले भनिन्, ‘त्यसमा हामी सफल भएका छौं।’

व्यक्तिगत रुपमा आफ्नो प्याराग्लाइडिङको दोस्रो अनुभव भएको बताउँदै उनले भनिन्, ‘४–५ वर्ष अघि मैले पहिलो पटक प्याराग्लाइडिङको अनुभव लिएकी थिए। त्यति बेलादेखि नै म मा आत्मविश्वास, एउटा सकारात्मक सोच र उत्साह भरेको थियो। त्यसैले यो म आफूमा मात्र सीमित गर्न चाहन्न थिए। आज आफ्नै संस्थामार्फत अन्य ११ जनालाई यो अवसर प्रदान गर्न सफल भयौँ।’

प्याराग्लाइडिङ गर्दाको अनुभव शब्दमा व्यक्त गर्न नसकिने खालको भएको उनले बत्ताइन्। जीवनमा ‘जो कोहिको सपना हुन्छ कि बादल भन्दा माथि माथि उड्ने,’ उनले थपिन्, ‘म आज त्यही सपना पूरा गरिरहेकी थिए। म बादललाई स्पर्श गरिरहेकी थिए। आकाशमा हावामा कावा खाँदै उड्दा आफूले सुन्दर पोखरालाई नजिकबाट अनुभूति गरेको बत्ताइन्। ‘उड्दै गर्दा पाइलटले गरेको व्याख्या, मन्द न्यानो घाम, सितल हावालाई मैले मनबाटै महसुस गरे। त्यसलाई मैले मनको दृश्यमा कैद गरे। मैले साँच्चिकै सुन्दर पोखरालाई नजिकबाट अनुभूति गरे,’ उनले भनिन्, ‘आँखाले नदेखेपनि भित्री मनले पोखरा देख्न पाए।’

जीवनमा उचाईमा पुग्न, जीवनमा सफलता हात पार्न दृष्टिविहीनमा सीमित हुन नहुने सृष्टि बताउँछिन्। ‘त्यो भयो भने हामी माथि उठ्न सक्छौँ। त्यो भन्दा माथि उड्न सक्छौँ,’ उनले भनिन्। ‘जीवनमा सपना देख्नका लागि आँखा होइन, हिम्मत चाहिन्छ’ भन्दै उत्प्रेरणा भर्ने सृष्टि आत्मबल भयो भने मान्छे कहिल्यै अपाङ्गता र दृष्टिविहीन नहुने बताउँछिन्। उनी भन्छिन्, ‘आत्मबललाई सबल पक्ष ठानेर, मानेर अघि बढ्नु पर्छ। यसो भयो भने कुनैपनि पक्षमा हामी पछि पर्दैनौँ र पर्नु पनि हुँदैन।’

सृष्टिसँगै प्याराग्लाइडिङ गर्ने काठमाडौं मूलपानीकी सुनिता दवाडीले प्याराग्लाइडिङ गर्दा आफूहरूले सोच्दै नसोचेको सफलता चुमेजस्तो अनुभूति गरेको बत्ताइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरको रुपमा काम गर्ने सुनिताको यो प्याराग्लाइडिङको पहिलो अनुभव थियो। उड्नुअघि के होला र कसो होला भनेर मनमा कुरा खेलाएकी उनले भनिन्, ‘प्याराग्लाइडिङका बारेमा धेरै थरी कुरा सुनेकी थिए। गर्ने बेला के होला भन्ने लागिरहेको थियो। तर आकाशमा हुँदा एकदम रमाइलो भयो। हावाको प्रेसर (चाप)ले माथि माथि गएको, तल झरेको सबै थाहा हुँदो रहेछ।’ अरूले उडेको सुन्दा आफूलाई पनि उड्न मन लागेको बताउने उनी भन्छिन्, ‘उहिलेदेखि नै उड्ने प्लान थियो। कहिले उड्न पाइएला भन्ने लागेको थियो। आज बल्ल पूरा भयो।’

प्याराग्लाइडिङ भन्ने बित्तिकै डरलाग्दो हुन्छ भन्ने ठानेकी बागलुङ घर भई पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा अध्ययनरत चाँदनी शर्मा पनि प्याराग्लाइडिङ गर्दाको अनुभव जीवनकै सबैभन्दा अविस्मरणीय रहेको बताउँछिन्। आकाशमा के हुन्छ होला, कस्तो हुन्छ होला भन्ने डरले सताइरहेको थियो,उनले भनिन्, ‘तर गाडीको सिटमा बसेर यात्रा गरेजस्तो मात्र भयो। फ्रेस हावाले मन नै आल्हादित भयो। यो अनुभवलाई म शब्दमा वर्णन गर्न सक्दिन।’ जीवनमा हावामा कावा खाँदै बादलको माथि माथि आकाशमा उडिएला भनेर त मैले कहिल्यै सोंचेकै थिईन,’ उनले भनिन्, ‘तर आज एक्कासि पूरा भयो। मेरो त खुसीको सीमा नै छैन।’

प्रकाशित: १५ श्रावण २०८० ११:०३ सोमबार

दृष्टिविहीन प्याराग्लाइडिङ