समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: कहिले चराको सास्ती त कहिले मुसाको

जहाजमा मुसा पसेको अनुमानमा घन्टौं खोजी

गत पुस मध्यदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराले झमेला पार्ने गरेको घटना बेलाबेला बाहिरिने गरेको थियो। जहाज उडान र अवतरणका क्रममा चराले विमानस्थलमा बारम्बार दुख दिइरहँदा सोमबार भने मुसाले अप्ठ्यारो थपिदिएको छ।  

उड्न लागेको जहाजमा मुसा पसेको आशंकामा सोमबार घन्टौसम्म जहाजमा मुसा खोजी गर्नुपरेको छ। पोखराबाट सोमबार बिहान ११ बजेर ५० मिनेटमा काठमाडौंका लागि उड्ने तयारीमा थियो यती एयरलाइन्सको उडान नम्बर ६७८। यतीको ९एन एएनजी कलसाइनको एटिआर–७२ उक्त जहाजमा ७० जना यात्रु उड्दै थिए। जहाजमा यात्रु चढिरहँदा एकाएक पांग्रा नजिक मुसा देखियो। त्यसपछि सुरु भयो जहाजमा मुसा पसेको हल्ला।

जहाजमा मुसा पसेको हल्लासँगै चढेका यात्रुलाई पनि ओरालियो। पांग्रा वरिपरि घुमिरहेको मुसा अन्यत्र भागेको नदेखेपछि जहाजभित्र पसेको आशंकाकै आधारमा खोजी सुरु गरिएको थियो। यात्रुलाई भने अर्काे जहाज बोलाएर काठमाडौं पठाइयो।  

‘जहाजमा मुसा पसेको आशंकामा लामो समयदेखि खोजी गर्नुपर्‍यो,’ विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीले भनिन, ‘मुसा देखियो भनेपछि यत्तिकै उडान गर्न भएन। सुरक्षा सचेतना अपनाउनका लागि खोजी भइरहेको छ।’ 

मुसा खोज्नका लागि यती एयरलाइन्सले काठमाडौंबाट अरु प्राविधिक पोखरा ल्याएको समेत उनले बताईन। यात्रुले देखेको मुसा साँच्चै जहाजभित्र पसेको हो वा बाहिर भागेको भन्ने कसैले नदेखेकोले अन्योल बनाएको उनले बताईन।

पार्किङमा रहेको जहाजमा नजिकैको घाँसे मैदानबाट दौड्दै आएर रोकिरहेको जहाजको टायरबाट मुसा भित्र पसेको विमानस्थलको अनुमान छ। ‘जहाजको पांग्रातिर मुसा देखियो। भित्र पस्यो वा बाहिर गयो भन्ने यकिन भएन। त्यसैले जहाजभित्रै मुसा पसेको अनुमानमा खोजीका लागि जहाज रोकिएको हो,’ रेग्मीले भनिन, ‘यतीका प्राविधिक आएर धमाधम मुसा खोज्ने काम भएको छ। बाहिर कतै गएको नदेखेपछि मुसा जहाजभित्रै पसेको भन्ने अनुमान मात्र हो।’

कुन ठाउँबाट कसरी मुसा विमानस्थलमा पस्यो भन्ने यकिन नभएको उनले बताईन। विमानस्थल क्षेत्र नजिकै घाँसे मैदान र खेत भएकोले पनि मुसा आउन सक्ने सम्भावना रहेको उनले बताईन। ‘मुसाले पोखरामा जहाजको उडानमा अवरोध गरेको यो नै पहिलो घटना हो। बरु, चराले अप्ठ्यारो पारेका थिए,’ उनले भनिन, ‘मुसा जहिँकतैबाट आउन सक्छ। नजिकै खेत भएकोले पनि नआउला भन्न सकिन्न।’ उनले पनि यात्रुको झोलाबाट मुसा आउने सम्भावना नरहेको बताईन।  

‘चालक दलका सदस्यले पनि मुसा पसेको आशंको रिपोर्ट दिएका छन्। मुसा नै पसेको भनेर कसैले पुष्टि गरेको छैन। रोकिरहेको जहाजको पांग्रा वरिपरि मुसा घुमेको देखिएको भन्ने मात्र हो,’ उनले भनिन, ‘सुरक्षाको कारण जहाजलाई रोकिएको हो। प्राविधिक टिमले सबै ठिक छ भन्ने रिपोर्ट दिएपछि मात्र रोकिएको जहाज उड्न पाउँछ।’

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले नजिकैको घाँसे मैदानबाट दौड्दै मुसा आएको हुनसक्ने बताए। ‘जहाजको पाङ्ग्राको वरिपरि मुसा देखियो, त्यसैले रोकिएको हो,’ बर्ताैलाले भने, ‘जहाजको टायर वरिपरि मुसा घुमेको देखिएको हो, तर, मुसा कता गयो भनेर कसैले देखेनन्।’ उनका अनुसार यात्रु जहाज चढिरहेको बेलामा मुसा देखिएको थियो। ‘मुसा टायर वरिपरि घुमेमा देखियो, तर, बाहिर गएको देखिएन, त्यही भएर भित्र पसेको अनुमान हो। लामो समय लगाएर खोजी गर्नुपर्‍यो,’ प्रवक्ता बर्ताैलाले भने, ‘नजिकैको घाँसे मैदानबाट दौड्दै आएको मुसा जहाजमा छिरेको अनुमान छ।’

यात्रुको झोलाबाट नभई घाँसे मैदानबाट आएको मुसा नै अत्तालिएर जहाजको टायरमा चढेको हुनसक्ने उनले बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले मुसा, कहिले चरा, स्याल, कुकुरले हैरान पारेको छ।  उडान र अवतरण ज्यादै नै जोखिमपूर्ण बनाएको छ,’ उनले भने, ‘विमानस्थलको धावनमार्गबाट आएको मुसा जहाजमा छिरेको आशंका छ, तर, मारमा यती एयरलाइन्स परेको छ। विमानस्थल बढी जिम्मेवार हुनुपर्छ।’  

अहिले क्याटरिङ सप्लाई नभएकोले यात्रु वा अन्य साधनबाट मुसा भित्रिएको भन्न नमिल्ने उनले बताए। विमानस्थल नजिकैको घाँसे चौरबाटै मुसा दौड्दै आएको हुनसक्ने उनले बताए। श्रोतका अनुसार घाँसे मैदानबाट करिब २० मिटर पर जहाज रोकिएको थियो। 

प्रकाशित: १५ श्रावण २०८० १०:३४ सोमबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मुसा