समाज

सुन छानबिनको प्रतिवेदन आउन ढिलाइ

सुन तस्करीको अनुसन्धान गर्न बनाइएका छानबिन समितिहरुले प्रतिवेदन दिन ढिलो गरिरहेका छन्।  

विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेपछि भन्सार विभागले साउन ४ गते आन्तरिक छानबिन समिति बनाएको थियो। विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय समितिलाई तस्करीको सुन भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन बुझाउन सुरुमा पाँच दिन समय दिइएको थियो।

समितिले पाएको पाँच दिनको समय बुधबार सकिएको छ। छानबिन नसकिएकाले थप पाँच दिन दिइएको विभागले जनाएको छ। छानबिन समितिले प्रतिवेदनको मस्यौदा तयार पारिसकेको विभागका सूचना अधिकारी निर्देशक पुण्यविक्रम खड्काले बताए। उनले भने, ‘मस्यौदा लगभग तयार भइसकेको छ। केही थप विषय पनि राख्नुपर्ने भएकाले त्यो काम भइरहेको छ।’

यसैगरी भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले पनि मस्यौदा लगभग तयार भएको बताए। ‘समितिले काम अझै पूर्णरूपमा सम्पन्न गरिसकेको छैन। जे जति काम भएको छ समिति र विभागबीच निरन्तरको छलफलअनुसार भइरहेको छ,’ उनले भने, ‘प्रतिवेदनमा यो घटनाको सत्यतथ्य कुरा त आउने भयो नै, थप विमानस्थल भन्सार सुधारका लागि पनि सुझाव दिन भनेका छौं। प्रतिवेदन तथ्यमा आधारित भएर आउनैपर्छ। त्यसका लागि हामीले पनि समन्वय गरिरहेका छौं। प्रतिवेदनले दीगो रूपमा समस्या समाधानका लागि कार्यान्वयनयोग्य सुझाव दिनेछ।’

कर्मचारीहरूको मिलेमतो भए/नभएको विषयमा प्रस्ट रूपमा कुरा आइनसकेको महानिर्देशक पौडेलले बताए। उनले भने, ‘मानवीय त्रुटि भएको कुरा आएको छ। त्यत्रो काम गर्दा कहिलेकाहीं भुलचुकमा त्रुटि हुन पनि सक्छ। तर छानबिन भइरहेकाले अहिल्यै सबैथोक भन्न सकिन्न।’

प्रकाशित: १४ श्रावण २०८० ०९:०२ आइतबार

सुन भन्सार विभाग