समाज

मुस्लिम र हिन्दु समुदायले सँगै मनाए मुहर्रम

कपिलवस्तु नगरपालिका– २ स्थित कर्बलामा सेलाउन ल्याईएका ताहाजियाहरु।

कपिलवस्तुमा सद्भावको पर्व मुर्हरम मुस्लिम र हिन्दु समुदायले धूमधामसँग सँगै मनाएका छन्। 

मुस्लीमहरुको तेस्रो प्रमुख चाड मुहर्रम पर्व कपिलवस्तुमा शनिवार  मुस्लिम र हिन्दुहरूले सँगै मनाएका हुन।एक आपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिम समुदायहरूले हर्षोल्लास र धूमधामसँग मुोहर्रम मनाएका हुन।

सो अवसरमा मुस्लिमहरूले विशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरूले कामना समेत गरेका थिए। जिल्लाका सय भन्दा बढी स्थानमा लाग्ने करबला (चिहान वा युद्धको मैदान) मा मेला हेर्न हजारौँ श्रद्धालु भक्तजनहरू आएका थिए।

यो पर्वमा हजरते ईमामे हुसैनको प्रतीकको रुपमा तहाजियालाई पुजा अर्चना गरिन्छ। जिल्लाका दश वटै पालिकामा रहेको कर्बलामा तहजियालाई सेलाइएको थियो। भाकल गरी तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संवृद्धि तथा मनोच्छा पुरा हुने गरेको भक्तजनहरू बताउछन्।

साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ। यसै बिच सदरमुकाम तौहिलवास्थित घरमा राखिएको ताहाजियाालाई तौहिलवा बजारमा परिक्रमा गरी कपिलवस्तु नगरपालिका– २ स्थित करबलामा विसर्जन गरिएको थियो। सो अवसरमा मुस्लिम समुदायले अलि र हुसेनको नारा समेत लगाएका थिए।

मुहर्रमकै अवसरमा कपिलवस्तु नगरपालिका– २ मस्जिद टोलमा बस्ने मुस्लिमहरूले खीर, बिर्यानी सर्बत फलफूल लगायतका परिकार वितरण गरेका थिए। ईस्लाम धर्मका प्रर्वतक ईमाम हुसनेको सम्झनामा यो पर्व मनाइन्छ। 

१४ सय वर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफू सहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरूप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्म गुरुहरू बताउछन्।

यजिद नामक शासक विरुद्ध युद्धकाक्रममा शाहदत प्राप्त गरेका थिए। अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी संवत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउछन्। मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै मस्दिमा कुरान पाठ गरी बेलुका खिचडी पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।

यो पर्वमा हिन्दु समुदायले ढोल, तासा, नगाडा सहितको परम्परागत बाजा बजाई नाचगान गर्ने प्रचलन रहेको छ। साथै मुहर्रमका दिन तरबार, लठ्ठी नचाएर, ट्युव लाईटलाई टोउकोले फुटालेर, मुखमा आगो राखेर सहासिक प्रदर्शन समेत गरिन्छ। 

घरमा पूजा गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करवलामा लगेर बिर्सजन गरिन्छ। यो पर्वलाई लक्षित गरी जिल्लाका १० मध्ये ७ पालिकाले स्थानीय बिदा दिएका थिए।

प्रकाशित: १३ श्रावण २०८० १४:२४ शनिबार

कपिलवस्तु मुहर्रम