समाज

बागलुङमा बेवारिसे शव फेला

बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको निसीखोला गाउँपालिका-६ पातीहाल्ने नजिकैको जंगलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले बताए। शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको उनको भनाइ छ।

पातीहाल्ने जंगलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो।

शव कंकाल बनिसकेको छ, धेरै दिन अगाडि मृत्यु भएको हुन सक्छ, शरीर कुहिएको अवस्थामा हड्डी मात्रै बाँकी रहेको हुँदा को व्यक्ति हो ? पहिचान गर्न सकिएको छैन, प्रहरी निरीक्षक शर्माले भने, ‘जिल्ला मातहतका प्रहरीचौकीमा खबर गरेका छौं, छिमेकी जिल्ला रोल्पा र रुकुममा पनि जानकारी गराएका छौं तर अहिलेसम्म कुनै मानिस हराएको निवेदन नपरेको छैन।’

शर्माले कुनै व्यक्ति हराएको भए प्रहरीमा खबर गर्न समेत आग्रह गरे। मृतकले लगाएका कपडा सहज रूप चिन्न सकिने हुँदा त्यसबाट पनि पहिचान गर्न सकिने उनको भनाइ छ।  

प्रकाशित: १३ श्रावण २०८० ०५:०५ शनिबार

शव कंकाल बेवारिसे शव फेला