समाज

आइपिसिसी कार्यगत समूह उपाध्यक्षमा रूपाखेती

जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी नियोग (आइपिसिसी) को पहिलो कार्यगत समूहको उपाध्यक्ष (भाइस–चेयर) मा नेपालका डा. महेश्वर रूपाखेती निर्विराेध निर्वाचित भएका छन्। केन्याको नैरोबीमा शुक्रबार सम्पन्न आइपिसिसीको ५९औं सभाले नेपाली वैज्ञानिक रूपाखेतीलाई कार्यगत समूहको उपाध्यक्षमा निर्वाचित गरेको हो।

रूपाखेती वायुमण्डल तथा जलवायु विज्ञानका अध्येता हुन्। उनी हाल जर्मनीस्थित रिसर्च इन्स्टिच्युट फर सस्टेनेबिलिटी हेल्महोल्ज सेन्टर पोट्सड्याममा कार्यरत छन्। संयुक्त राष्ट्रसंघीय विश्व मौसम संगठन र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको सक्रियतामा सन् १९८८ मा स्थापित आइपिसिसीले जलवायु परिवर्तनबारे वैज्ञानिक आधारमा नियमित रूपमा जानकारी गराउँदै आएको छ।

यसै आधारमा विश्व समुदायले जलवायु नीति निर्माण गर्छ। आइपिसिसीमा विश्वका १९५ देश सहभागी छन्। यसपटक नेपालले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) का प्राध्यापक तथा वैज्ञानिक शोभाकर ढकाललाई आइपिसिसीको सह-अध्यक्ष र तेस्रो कार्यगत समूह (वर्किङ ग्रुप-३) को उपाध्यक्ष पदमा उम्मेदवार बनाएको थियो। तर,यी दुवै पदमा ढकाल निर्वाचित हुन सकेनन्।

पहिलो कार्यगत समूहको उपाध्यक्षमा रूपाखेतीको विजयलाई ढकालले नेपालको ठुलो सफलता भएको बताएका छन्। ‘आइपिसिसीको ब्युरोमा निर्वाचित हुनु नेपालका लागि ठूलो उपलब्धि हो,’ प्राध्यापक ढकालले भनेका छन्। नैरोबीमा सम्पन्न सभाले ब्युरो अध्यक्ष, सह-अध्यक्ष, उपाध्यक्ष, कार्यगत समूहका उपाध्यक्ष र टास्क फोर्स ब्युरोका सदस्यसहितको आइपिसिसीको नयाँ ब्युरो गठन गरेको छ।

प्रकाशित: १३ श्रावण २०८० ०१:०२ शनिबार

जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी नियोग (आइपिसिसी) नेपालका डा. महेश्वर रूपाखेती विजयी