समाज

लम्पी स्किनबाट ताप्लेजुङ र पाँचथरमा साढे ६ सय पशु मरे

ताप्लेजुङको फुङलिङमा लम्पि स्किन बिरुद्धको खोप लगाईदैं । तस्बिर: नागरिक

लम्पी स्किन रोगबाट हाल सम्म ताप्लेजुङ र पाँचथरमा गरी साढे ६ सय पशु मरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार पाँचथरमा ४ सय ४० र ताप्लेजुङमा २ सय ७ गरी अहिले सम्म कूल ६ सय ४७ पशु मरेका हुन्।  

केन्द्रका प्रमुख डाक्टर मनोजकुमार महतोका अनुसार सबैभन्दा बढी गाई–गोरु मरेका छन्। पाँचथरमा मात्रै ४ सय ३७ वटा गाई–गोरु र ३ वटा भैंसी–राँगा मरेका छन्। लम्पी स्किनबाट ताप्लेजुङमा २ सय ६ वटा गाई–गोरु र एउटा भैंसीको मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ। केन्द्रका अनुसार ताप्लेजुङमा सबैभन्दा बढी पशु मिक्वाखोला गाउँपालिकामा मरेका छन्। त्यहाँ १ सय २ वटा गाई–गोरु मरेका छन्।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा भने लम्पी स्किनबाट अहिले सम्म पशुको मृत्यु भएको बिबरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार फुङलिङमा २२ वटा गाई–गोरु,पाथीभरा याङ्वरकमा १२ वटा,मेरिङदेनमा ३ वटा, मैवाखोलामा ३३ वटा, सिरिजङ्गामा २० वटा, आठराई त्रिबेणीमा १० वटा गाई–गोरु र सिदिङ्वामा ४ वटा गाई–गोरु र एउटा भैंसी–राँगा मरेका छन्। यस्तै पाँचथरको हिलिहाङ गाउँपालिकामा ४८ वटा गाई–गोरु र एउटा भैंसी–राँगा,फालेलुङ गाउँपालिकामा ७१ वटा गाई–गोरु, मिक्लाजुङ गाउँपालिकामा ७२ वटा गाई–गोरु र एउटा भैंसी–राँगा, याङ्वरक गाउँपालिकामा ११ वटा गाई–गोरु र एउटा भैंसी–राँगा मरेका केन्द्रले जानकारी दिएको छ।

यस्तै तुम्बेवा गाउँपालिकामा ७६ वटा गाई–गोरु,कुम्मायक गाउँपालिकामा ४५ वटा गाई–गोरु,फाल्गुनन्द गाउँपालिकामा २६ वटा गाई–गोरु र फिदिम नगरपालिकामा ८८ वटा गाई–गोरु मरेका छन्। ताप्लेजुङ र पाँचथरमा गरी ४१ हजार ७ सय २२ वटा पशु प्रभावित भएका छन्। त्यसमध्ये ४१ हजार ६ सय ८ गाई–गोरु र १ सय १४ वटा भैंसी–राँगा रहेको केन्द्रले जानकारी दिएको छ । दुई जिल्लामा अहिले सम्म २८ हजार ६ सय २५ वटा पशुलाई खोप लगाई सकिएको र खोप लगाउने क्रम जारी रहेको समेत केन्द्रले जनाएको छ। केन्द्रले लम्पि स्किन बिरुद्धको औषधि उपचारमा मात्रै हाल सम्म ५३ लाख ७० हजार रुपैयाँ खर्च भईसकेको समेत केन्द्रले जानकारी दिएको छ।

प्रकाशित: १२ श्रावण २०८० ०७:४४ शुक्रबार

‘लम्पी स्किन’