समाज

ठेकेदार र एलडिओबीच कमिसन विवाद

सिरहा- जिल्ला समन्वय समिति सिरहाले जिल्लामा भएका विकास निर्माण कामको निकासा दिन कमिसन लिने गरेको खुलेको छ।  साई बिल्डर्समार्फत समितिबाट भएको सिरहा सुखचैनाको मन्दिर पर्खाल निर्माण भुत्कानीमा कमिसनको चलखेल सार्वजनिक भएको हो।

 बुधबार बिल्डर्सका गणेश चौधरीले समितिको कार्यालयमा पुगेर स्थानीय विकास अधिकारी सुरेश राउतले कमिसन लिएर पनि निर्माण खर्चअनुसार भुक्तानी नदिएको भन्दै हल्लाखल्ला गरे। राउतको कार्यकक्षमै सांसद सीतादेवी यादव र आशा यादवको उपस्थितिमा राउतलाई कमिसनबापत दिएको एक लाख रकम फिर्ता गर्न हप्काएपछि निर्माण काममा कमिसन खेल छताछुल्ल भएको हो।

 मन्दिर पर्खाल निर्माण, प्लास्टर र रङरोगन गर्ने कामको ठेक्का पाएका उत्क निर्माण कम्पनीले भुत्कानीका लागि कुल १ लाख ९० हजार कमिसन बुझाए पनि रकम भुत्कानी नपाएको गुनासो गरेको छ। कमिसन रकम बुझाए पनि पाउनुपर्ने ८ लाखभन्दा बढी रकममध्ये ४ लाख ५० हजारमात्रै भुत्कानी पाएको दाबी कम्पनीको छ।

उनले स्थानीय विकास अधिकारी राउतले पटक–पटक गरी १ लाख ९० हजार कमिसन लिएको दाबी गर्दै कबुल गरेअनुसार भुक्तानी  नभएको बताए। कमिसन दिँदा भएको सहमतिअनुसार पूरै रकम भुत्कानी नहँुदा स्थानीय विकास अधिकारीलाई उनकै कार्यकक्षमा कमिसन रकम फिर्ता लिन पुगेको माओवादी केन्द्रका जिल्ला नेतासमेत रहेका चौधरीको भनाइ छ। 'जिल्लाबाट प्रतिनिधित्व गर्ने राउतलाई सासंदसामु च्याप्प समाउँदा पनि उनी चुइँक्क बोलेनन्,’ चौधरीले थपे।

  कमिसन रकम फिर्ता नगरे कारबाहीका लागि माथिल्लो निकाय पुग्ने भनेर फर्केका चौधरीलाई विभिन्न तहबाट प्रभावित गर्ने कोसिस भइरहेको उनले सुनाए। स्थानीय विकास अधिकारी राउतले भने भुत्कानी दिन आफूले कमिसन कमिसन नलिएको दाबी गरे। यद्यपि उनले घटनालाई समाचारका रूपमा सार्वजनिक नगरिदिन पटक–पटक नागरिक संवाददातासँग आग्रह गरे। बिहीबार नै उनले निर्माण कम्पनीका पप्पु यादवमार्फत कमिसनबापत लिएको ७० हजार फिर्ता गरेको चौधरीले नागरिकसँग खुलाए। उनले भने, ‘कमिसनबापत बुझाएको १ लाख २० हजार अझै फिर्ता भएको छैन।’ उनले कमिसन नदिँदा कामअनुसार रकम भुत्कानीका लागि फाइल अघि नबढ्ने समस्या रहेको बताए।

घटनाका प्रत्यक्षदर्शी सासंद आशा यादवले ठेकेदारले कमिसनको विषयमा विवाद गरिरहँदा स्थानीय विकास अधिकारीले प्रतिवाद गर्न नसकेको बताइन्। घटनाका अर्का प्रत्यक्षदर्शी माओवादी केन्द्रका जिल्ला नेता महेश यादवले स्थानीय विकास अधिकारीका सहयोगीले कमिसनबापत लिएको रकम फिर्ता गर्ने भनेर स्वीकार गरेको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको जनाए।

प्रकाशित: १२ असार २०७४ ०३:०५ सोमबार