समाज

बढ्दै पुरुष हिंसा: एक वर्षमा २९ श्रीमानले दिए श्रीमती विरुद्ध उजुरी

पुरुषले महिलालाई कुटपिट गरेको, खान-लाउन नदिएको, घरमा बस्न नदिएका भन्दै प्रहरीमा अत्यधिक उजुरी पर्ने गर्छन्। तर महिलाले नै मादक पदार्थ सेवन गरी झगडा गरेको, पुरुषलाई खान लाउन नदिएको, सुत्न नदिएको, माइत गएपछि नफर्केको लगायतका उजुरी भने कमै पर्ने गर्छन्।

श्रीमतीले पर-पुरुषसँग सम्बन्ध राखेको, फेसबुकमा अनावश्यक मान्छेसँग कुराकानी गरी हैरानी पारेको, बिरामी पर्दा श्रीमतीले कुनै वास्ता नगरेको, वैदेशिक रोजगारीमा रहेको बेला श्रीमतीले सबै पैसा उडाएको लगायतका ठाडो उजुरी केही वर्ष यता प्रहरीमा पर्ने गरेका छन्।

घरेलु हिंसामा महिलाहरू मात्र पीडित बनेको कुराहरू बाहिर आइरहेको बेला कपिलवस्तुमा भने पुरुषहरू समेत त्यसबाट पीडित बनेको कुरा सार्वजनिक भइरहेका छन्।

जिल्लामा पुरुष हिंसा समेत बढ्दै गएको प्रहरी कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष ०७९/८० मा जिल्लामा २९ वटा पुरुष हिंसा भएको भन्दै उजुरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७०/०७१ देखि पुरुष हिंसाको रेकर्ड समेत राख्न थालिएको छ। त्यसयता वर्षको १० देखि १५ वटा मात्र पुरुष हिंसा सम्बन्धी उजुरी पर्ने गरेकोमा गत आर्थिक वर्ष भने २९ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महिला तथा बाल बालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बत्ताइन्।

श्रीमतीबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजुरी दिन थालेका छन् । पहिले गाउँघरमै गुपचुपमा मिलाइने पुरुष हिंसाका उजुरी दिन पुरुषहरू आफै प्रहरी कहाँ पुग्ने गरेका छन्। 

उनीहरूले आफू महिलाबाट पीडित भएको भन्दै न्याय पाउने आशाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा उजुरी दर्ता गर्ने गरेका छन्। यसअघि उजुरी गर्न पुरुषहरू प्रहरीकोमा खासै आउने गरेका थिएनन्। त्यस कारण प्रहरीमा रेकर्ड पनि राख्ने चलन थिएन ।

महिलाहरू जस्तै पुरुष पनि उजुरी गर्न आएपछि आरोपित महिलालाई बोलाएर छलफल गराउने गरेको महिला तथा बालबालिका सेल प्रमुख बोहोराले सुनाइन् ।

‘समय परिस्थिति अवस्था फेरिँदै जाँदा नयाँ समस्या आएको भन्दै दुवै पक्षलाई मिलाएर पठाउने गरिएको छ,’उनले भनिन ‘धेरै पुरुष वास्तविक रूपमा पीडित भेटिएका छन्। दुवै पक्ष राखेर छलफल गर्दा समस्या पत्ता लाग्छ, त्यसपछि कसरी समाधान गर्ने भनेर निक्र्यौल निकाल्छौँ।

उनका अनुसार हिंसा प्रभावित धेरै पुरुषका समस्या समाधान भएका छन्।

उनी भन्छिन् ’पुरुषहरुले आफ्नो श्रीमती माइत गए पछि नफर्केको, लिन जाँदा झैझगडा गरेको, वैदेशिक रोजगार गएको बेला पठाएको पैसा हिनामिना गरेको भन्ने धेरै उजुरी दिने गरेका छन्। खास गरी उजुरीमा खान/लाउन नदिएको, कुटपिट गर्दै दुर्व्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गर्छन्।’

त्यस्तै घरमा नबस्ने, घर व्यवहार नगर्ने, यातना दिने, विलासी रहनसहन, मंहगो लत्ताकपडा र गरगहना मागेर निहुँ खोजेर दुःख दिने गरेको भन्दै उजुरी गर्न आउनको सङ्ख्या पनि बढेको छ।

’सबैलाई सम्झाई बुझाई पठायौ’ महिला सेल प्रमुख प्रहरी निरीक्षक बोहाराले भनिन् ‘त्यसपछि फेरी समस्या भयो भन्दै पुरुषहरू आएका छैनन्।’

यता प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले हिंसा पीडित महिलालाई जतिनै पुरुषका लागि प्राथमिकता दिन थालिएको बताए।

’घर बिग्रियो भने परिवार बिग्रने हुँदा समाज बसालेर छलफल गर्छौँ नभए मात्र अदालत सम्म पठाउने गरेको छौँ।’ उनले भने।

महिला सेल कपिलवस्तुका अनुसार गत आर्थिक वर्ष ३ सय ५२ घरेलु हिंसामा परेको उजुरी मध्ये ३ सय ५ वटामा मेलमिलाप गरी टुङ्गाइएको छ।

प्रकाशित: १० श्रावण २०८० १२:४५ बुधबार